चौधरी समूहले एक हजार अस्थायी घर बनाइदिने, १ सय विद्यालय पुननिर्माण गर्ने विनोद चौधरीको घोषणा

मुलुकको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी समूहले भूकम्पबाट अति प्रभावित जिल्लामा एक हजार अस्थायी घर निर्माण गरेर पीडितलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ । पत्रकारसम्मेलन गरेर समूहका अध्यक्ष विनोदकुमार चौधरीले आगामी छ महिना भित्रमा ती घर निर्माण गरेर पीडितलाई हस्तान्तरण गरिने बताउनुभयो । स्वदेशी तथा विदेशी दातृ निकाय, परोपकारी सङ्घसंस्थासँगको सहकार्यमा अरू नौ हजार घर निर्माण गर्ने लक्ष्यका साथ समूहले काम गरिरहेको जानकारी उहाँले दिनुभयो । “भूकम्पबाट भत्केका एक सय सामुदायिक प्राथमिक विद्यालय पुनर्निर्माण पनि गर्नेछौँ”– समाजप्रतिको समूहको दायित्व सुनाउँदै उहाँले भन्नुभयो । भूकम्पपीडितको सहायतार्थ समूहले रु २५ करोड छुट्याएको बताउँदै उहाँले हालसम्म झन्डै रु दुई करोडबराबरका राहत सामग्री वितरण भइरहेका जानकारी दिनुभयो । हइटी र फिलिपिन्समा विपद् व्यवस्थापनको अनुभव बटुलेका अन्तर्राष्ट्रिय मान्यता प्राप्त विशेषज्ञ टोली र समूहकै प्राविधिकले अस्थायी घर र विद्यालयको पुनर्निर्माण गर्नेछन् । एउटा घरको निर्माण लागत रु ५० हजारदेखि एक लाखसम्म पर्ने बताइएको छ ।