राहत कुर्दै भक्तपुरका ग्रामीण क्षेत्रका बासिन्दा, ललितपुरको सुगम गाउँमै पुगेन राहत

विनाशकारी भूकम्पपीडितलाई सरकारी तथा गैरसरकारी निकायले राहत वितरण गर्न सुरु गरेको १० दिन भइसक्दा पनि अझै राहत नपुगेको भक्तपुरका ग्रामीण क्षेत्रका भूकम्पपीडित राहत कुर्दै बसेका छन् । गाउँका सबै घर भत्किएर भग्नावशेष हुँदा पनि यहाँका साविक १६ गाविसका भित्री गाउँमा राहतका नाममा एउटा पालसमेत पुग्न नसकेपछि पीडितलाई थप पीडा थपिएको छ । पहुँचवाला र राजनीतिक रुपमा राहत केन्द्रित हुँदा वास्तविक गाउँसम्म राहतका नाममा पालसमेत पुग्न नसकेको भूकम्पपीडितले गुनासो गरेका छन् । भक्तपुरका महामञ्जुश्री नगरकोट नगरपालिका, अनन्तलिङ्गेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका साविक १६ गाविसका भित्री क्षेत्रका ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले राहतका नाममा एउटा पालसमेत पाउन नसकेका हुन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल वास्तविक भूकम्पपीडितसम्म अझै राहतका नाममा एउटा पालसम्म पुग्न नसकेको स्वीकार्नु हुन्छ । भक्तपुरमा ३० हजार पाल चाहिनेमा पाँच हजार पाल पनि वितरण गर्न नसक्दा भूकम्पपीडितले टाउको लुकाउने ठाउँ पनि नपाएको उहाँ बताउनुहुन्छ । अहिले भूकम्पपीडितले आफू बस्न, भत्किएको घरको सुरक्षाका लागि घर छोप्न र अन्नपात थन्क्याउन पाल माग गरिरहेकाले पनि पालको अभाव बढ्दै गएको उहाँ बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालयमा पाल माग्न आएका चाँगु पिखेलका न्हुच्छेभक्त फोजुले चाँगु वडा नं ४ मा ५१ घरधुरीमा एक वटामात्र पाल पुगेको बताउँदै टाउको लुकाउन पाल दिन माग गर्नुभयो । साविक छालिङ गाविसका प्रमिला गँैडाले यहाँका १०० घरपरिवार अझै पनि पाल कुरेर बसेको बताउँदै पाल पाए आलु खाएर भए पनि बस्न तयार भएको बताउनुभयो । यता दधिकोट सिकारीटारमा मात्रै ६० घर भत्किएर ध्वस्त हुँदा पनि यहाँ राहतका कुनै सामग्री अझै नआएको स्थानीय अनिल श्रेष्ठ बताउनुहुन्छ । जिल्लाको विकट क्षेत्रमध्ये आशापुरी, काँक्राबारी, चाँगुको छायाबस्ती क्षेत्रमा कति घर भत्कियो भन्ने बुझ्नसमेत कोही नआएको बताउँदै काँक्राबारीका नकुल थापामगरले राहत नआउँदा त्यहाँका गरिब परिवारको बिचल्ली भएको बताउनुभयो । राहत वितरण गर्नेले सवारी साधन पुग्ने ठाउँमा मात्रै राहत पु¥याउने र पैदल हिँड्नुपर्ने ठाउँमा कोही नजाँदा यस्ता ठाउँका पीडितले राहत पाउन सकेका छैनन् । जिल्लाका चारवटा नयाँ नगरपालिकाले राहत वितरणका लागि वडा कार्यालयमार्फत स्थानीय नागरिक वडा मञ्चलाई जिम्मा लगाउने र वडा मञ्चले आफन्त र आफ्ना कार्यकर्तालाई राहत वितरणमा प्राथमिकता दिएपछि सबै पीडितसम्म राहत पुग्न नसकेको हो । वडा मञ्चमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिले आ–आफ्ना कार्यकर्तासम्म राहत पु¥याउने र अरुको बेवास्ता गर्ने गर्दा हजारौँ भूकम्पपीडितले अझै राहत पाउन नसकेको हो । सरकारले भूकम्पपीडितको पहिचान गरेर सुरक्षाकर्मीमार्फत राहत वितरण गर्न नसक्दा जिल्लाका ग्रामीण क्षेत्रमा समस्या आएको चारवटै नगरपालिकाका कार्यकारी अधिकृतहरू स्वीकार्छन् ।
यसैबीच, गत साता गएको विनाशकारी भूकम्पबाट पीडितका लागि वितरण गरिएको राहत सामग्रीमा विभेद भएको गोदामचौरका पीडितहरूले गुनासो गरेका छन् । चक्रपथबाट करिब १० किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकाअन्तर्गत सुगम गाउँका बासिन्दाले सो गुनासो गरेका हुन् । खासगरी नगरपालिकाको वडा नम्बर १ र २ स्थित गोदामचौरमा बसोवास गर्ने अधिकांश दलित परिवारले यस्तो दुखेसो पोखेका हुन् । आएका राहतका सामग्रीहरू “हुनेखानेले पाउने, हामी जस्तो गरिब एवम् पीडितले नपाउने” भन्दै विलौना गर्दै थिइन् वडा नं २ की मिश्री नेपाली । वास्तविक पीडितभन्दा पनि पहँुचवाला र नेता नजिकको मानिसले मात्र राहत पाउने गरेको उनले गुनासो पोखिन् । भूकम्पका कारण घर भत्किएर पुरिएकी आफ्नो नातिलाई दुई घण्टाभित्र उद्धार गरिएको सुनाउँदै दलित बस्तीलाई राज्यबाटै विभेद गरिएकोमा दुःख पोखिन् । घर भत्किएको आज १० दिन बित्दा पनि बस्नका लागि पालको समेत व्यवस्था नभएकोप्रति उनले आक्रोस पोखिन् । खानभन्दा पनि पालको आवश्यक रहेकाले छिटोभन्दा छिटो यसको व्यवस्था गरिदिन ६६ वर्षीयँ नेपालीले आग्रह गरिन् । यस्तै सोही ठाउँकी ८२ वर्षीय गोविन्द नेपालीको पनि उस्तै कथन रहेको छ । विनाशकारी भूकम्पबाट घर भत्किएर खुल्ला आकाशमुनि बस्न बाध्य भएको नेपालीको भनाइ छ । भूकम्प पीडितलाई आएको राहत सामग्री वास्तविकले भन्दा अर्कैले पाएको खबरले आफू मर्माहत भएको उनले बताए । सोही स्थान वडा नम्बर १ की कुमारी नेपालीको व्यथा पनि उस्तैउस्तै रहेको छ । पीडितलाई आएको राहत पारदर्शी ढङ्गबाट गरिनुपर्नेमा उनको माग छ । राहत वितरण कार्यमा पहिले जानेले पाउने र पछि पर्नेले नपाउँदा दुःख लागेको उनले बताइन् । यहाँ बसोवास गर्ने दलित बस्ती राहत सामग्रीबाट वञ्चित हुनुपरेको उनले बताइन् । भूकम्पले धनजनलाई क्षति पु¥याएको आज १० दिन बित्न लाग्दासमेत बस्नका लागि पाल पाउन नसक्दा उनले दुखेसो पोखिन् । उक्त क्षेत्रमा रहेका अधिकांश घरहरूलाई भूकम्पले ध्वस्त गराएको भन्दै सकेसम्म छिटो पालको व्यवस्थाका लागि उनले माग गरिन् । पहुँचवालाले आफ्नै आँखा अगाडि ५÷६ वटासम्म पाल लगेको देखिए पनि चुप लागेर बस्नुको विकल्प नभएको उनले गुनासो गरिन् । उक्त वडामा दलीय प्रतिनिधित्व गर्ने एमाओवादीका प्रतिनिधि राजु आचार्यले ८३४ घर पूर्णरूपमा भूकम्पले ध्वस्त बनाएको र पीडितका लागि आएको राहत अपर्याप्त भएकाले बाँडफाँड कार्यमा असहज स्थिति आएकाले काम गर्न कठिन भएको उल्लेख गर्नुभयो । प्राय गरी अधिकांश घरहरू ध्वस्त भएकाले बस्नको लागि करिब एक हजार पालको आवश्यक रहेको भन्दै उहाँले कतिपय पीडितहरू बोरा बेरेर बस्न बाध्य भएको बताउनुभयो । उक्त दुईवटा वडाका सचिव अशोक आचार्यले हालसम्म राहतको नाममा नगरपालिकाबाट त्रिपाल ९६ थान, १९ बोरा चामल, ३८ बोरा चिउरा, ३० किलो दाल एवम् ५४ कार्टुन चाउचाउ आएकोमा समानरूपमा बाँडिएको बताउनुभयो । आएका सामानहरू अपर्याप्त रहेकाले थप माग गरिएको उहाँले बताउनुभयो । सो क्षेत्रमा रहेका दलिल बस्तीका ७६ वटै घर भूकम्पका कारण पूर्णरूपमा ध्वस्त भएका छन् । भूकम्पकै कारण ८३४ घरलाई क्षति पु¥याएको जनाएको छ । भूकम्पका कारण हालसम्म जिल्लाभर १७२ जनाले ज्यान गुमाउनुपरेको छ भने एक हजारको हाराहारीमा घाइते भएका छन् । भूकम्पले २२ हजार घर क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।