प्रधानमन्त्री कोइराला सेनाको हेलिकोप्टरमा पुगे सिन्धुपाल्चोक

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोक जिल्लाको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री कोइराला सिन्धुपाल्चोकको दुर्गम क्षेत्र लिस्तिकोट पुगेर भूकम्प पीडितका लागि नेपाली सेनाद्वारा हुँदै आएको खोज, उद्धार, उपचार र राहत कार्यक्रमबारे विस्तृतरूपमा जानकारी लिनुभएको थियो । सिन्धुपाल्चोक जिल्लामा मात्रै भूकम्पमा परी मृत्यु भएका दुई हजार आठसयको शव फेला परिसकेको छ । नेपाली सेनाका अनुसार प्रधानमन्त्री कोइरालाका साथ प्रधानसेनापति गौरवशम्शेर राणासमेत सहभागी हुनुहुन्थ्यो । नेपाली सेनाले भूकम्पबाट प्रभावित १४ जिल्लाका २८४ गाविसमा खोज, उद्वार, राहत तथा भग्नावशेष हटाउने कार्य प्रभावकारी तवरले गरिरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र कोरियाली सेनाको संयुक्त टोलीले गोंगबुमा एक जनाको शव उत्खनन् गरी निकालेको छ । सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ र गोरखा जिल्लामा उद्धार टोलीले हेलिकप्टरमार्फत खाद्यान्न आठ हजार ८८५ केजी र विभिन्न किसिमका चार हजार ३६५ केजी राहत सामग्री पु¥याएको छ । सिन्धुपाल्चोक, दोलखा र धादिङबाट स्वदेशी ३९ र ११ जना विदेशी नागरिकलाई आज सेनाले उद्वार गरेकोे छ । भग्नावशेष हटाउने क्रममा बलाजु चोकदेखि बाइपाससम्म र बाइपासदेखि वनस्थली स्कुल खण्डमा भग्नावशेष हटाउने कामसमेत आज सुरक्षा फौजले गरेको छ । छाउनीस्थित जङ्गी असवाव खाना (डिपो) मा राखिएका एक हजार ७९३ थान भूकम्प पीडित नागरिक र भत्किएका व्यारेकको दैनिक काम सञ्चालनका लागि सहज तुल्याउन प्रयोगमा ल्याइएको सेनाले जनाएको छ । सेनाले उपत्यकाका ३६ वटा केन्द्रहरूमा १५ वटा पानी ट्याङ्करद्वारा खानेपानी वितरण गरेको छ । यसैबीच चीनबाट आर्मी उद्धार टिमसहित १७.८ टन सामान र व्यक्तिगत उपकरण, ३ वटा वारियर कमाण्ड भेहिकल तथा १७.८ टन पानी, खाद्यान्न र क्याटरिङका सामग्री तथा फ्रान्सबाट उद्धारसमेत टिम नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।