उद्धारका लागि उपयुक्त चार ओस्प्रे विमान र दुई हेलिकोप्टर आजबाट परिचालन

नेपालमा उपयुक्त र पर्याप्त विमानको अभावमा राहत कार्य प्रभावित भएपछि अमेरिकाका चारवटा ओस्प्रे विमान र दुई हेलिकोप्टरसहित सय सैनिक काठमाडौं पुगेका छन् । आजबाट यी विमान र हेलिकोप्टरले आफ्नो कार्य आरम्भ गर्नेछन् । आइतबार साँझ पुगेका यी विमान अवतरण गर्नुअघि नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलले ठूला विमानलाई तत्काल उडान अनुमति नदिने निर्णय गरेको थियो । यस्तो निर्णयले कुनैपनि राहत बोक्ने विमान प्रभावित नहुने र १ सय ९७ टनभन्दा बढी तौलका विमानलाई मात्रै रोक्ने नेपालका अधिकारीहरुले बताएका छन् । अत्यधिक भारका कारण रनवे नै भत्किने खतरा देखिएपछि यस्तो निर्णय गरिएको थियो । अमेरिकी राहतमा मुख्यतः त्रिपाल र अस्थायी घरहरु रहेका छन् । भूकम्प र त्यसपछि परेको पानीका कारण बिग्रिएको मौसमले गर्दा कपितय दुर्गम ठाउँमा राहत पुग्न सकेको छैन ।