भूकम्प पीडितलाई राहत वितरणमा सरकार सुस्त – अध्यक्ष ओली, एमाओवादी अध्यक्ष दाहालद्वारा राहत वितरण
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई राहत वितरणमा सरकार सुस्त भएको बताउनुभएको छ । अध्यक्ष ओली निवासमा दोलखाली नागरिक समाजका अगुवासँगको भेटमा उहाँले सरकारले राहत वितरण र खोजी तथा उद्धार कार्यमा तीव्रता दिन नसकेको बताउनुभयो । नेपालमा यति ठूलो विपत्ति एकै पटक आएको र यसलाई व्यवस्थापन गर्न सरकार अल्मिलिएको उहाँको भनाइ छ । सरकारले छिटोभन्दा छिटो वास्तविक पीडितसम्म राहत सामग्री पु¥याउन आफूले प्रधानमन्त्री र गृहमन्त्रीलाई घच्घच्याइरहेको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले नेताहरु गाउँ–गाउँ आएनन् भन्ने जनताको गुनासोमा नेताहरु आफैँ गाउँ घुम्ने नभई राहत सामग्रीको लागि पहल गर्ने बताउनुभयो । नेपालमा विनाशकारी भूकम्प जस्तै जातीयता र देशको विखण्डनको विनाश निम्त्याउन खोज्ने पनि सक्रिय रहेको बताउँदै उहाँले त्यस्ता तत्वलाई सच्याउने प्रयास आफूले गरिरहेको बताउनुभयो । दोलखाली समाजका प्रतिनिधिले दोलखामा ९५ प्रतिशत घर भूकम्पबाट भत्किएकाले छिटो राहत सामग्री पु¥याउन र पुनःनिर्माणका लागि अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए । ओलीले भने पहिलो चरणमा उद्धार र राहतमा प्राथमिकता दिनुपर्ने र पछि मात्रै पुनःनिर्माणको कार्यमा अगाडि बढ्ने बताउनुभयो । यस्ता विपत्तिबाट जोगिन सरकारले सुरक्षित स्थानमा आवासीय क्षेत्र तोेकेर सामूहिक बस्ती विकास गर्नुपर्ने बताउनुभयो ।
यसैबीच, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भूकम्पबाट पीडित भएका ललितपुर हरिसिद्धि क्षेत्रमा राहत वितरण गर्नुभएको छ । उहाँले सय बोरा चामल, ९० थान सिल्पिङ ब्याग, खाने तेल तथा अन्य राहत सामग्री वितरण गर्नुभएको थियो । स्थानीयबासीलाई उहाँले आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र त्यसका लागि निरन्तर प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो । राहत तथा उद्धारका लागि आफ्नो पार्टीको भ्रातृ तथा जनवर्गीय सङ्गठनहरु सक्रियताका साथ परिचालित भइरहेको अध्यक्ष दाहालले बताउनुभयो । प्राकृतिक विपत्तिको समयमा सबै राजनीतिक दलहरु मिलेर जनतालाई राहत दिनुपर्नेमा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै उहाँले आफ्नो पार्टीले ध्यानाकर्षण गराएपछि केही न केही रुपमा सरकार क्रियाशील हुन थालेको उल्लेख गर्नुभयो । सङ्कटको घडीमा सहयोग गर्न एमाओावादी तयार रहेको भन्दै धैर्यताकासाथ रहनसमेत उहाँले आग्रह गर्नुभएको थियो । स्थानीयले भने सरकारले हालसम्म त्रिपालको समेत व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए ।