प्रधानमन्त्री कोइरालासँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार र परराष्ट्र सचिवको भेट


indian foreign1प्रधानमन्त्री सुशील कोइरालासँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र विदेश सचिव एस जयशङ्करसहितको उच्चस्तरीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटमा सल्लाहकार दोभलले नेपालमा हालै आएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय सरकार र भारतीय जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइराला र उहाँमार्फत भूकम्पबाट पीडित नेपाली जनतालाई पठाउनुभएको समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा आएको यस अकल्पनीय प्राकृतिक प्रकोपबाट पीडितहरुको उद्धार, राहतमा भारतीय प्रधानमन्त्री र भारत सरकारले देखाएको तत्परताको सराहना गर्नुभयो । उहाँले ८० वर्षको अन्तरालमा आएको यति ठूलो विपत्तिको सामना गर्नका लागि भारतले हासिल गरेको ज्ञान, सीप र अनुभव हाम्रा लागि निकै सहयोगी सिद्ध भएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले भूकम्प गएपछिको पाँचौ दिनसम्म पनि पीडितहरुको जीवितै उद्धार गरिएको घटना स्मरण गर्दै भारतका उद्धारकर्मीहरु राजधानी उपत्यका र उपत्यका बाहिर पुगेर गरेको उद्धार कार्यको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री कोइरालाले आफू पनि उद्धार, उपचार र राहत लिने प्रक्रियाको जानकारी लिन स्थलगत अवलोकन भ्रमणमा जाँदा भारतीय उद्धारकर्ता र स्वास्थोपचार टोलीले गरेको कामबाट प्रभावित भएको बताउनुभएको थियो । वार्ताका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार दोभलले भूकम्पको केन्द्रविन्दु नेपालमा परेको जानकारी पाउने वित्तिकै केही बर्ष पहिले गुजरातको भुजमा आएको भूकम्पको विनास देख्नुभएका भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हुने विनासको आँकलन गर्दै उद्धार र राहतका लागि अग्रसरता लिन तत्परता देखाउनुभएको बताउनुभयो । भेटमा भारतीय राजदूत रञ्जित रे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, कामु परराष्ट्र सचिव शङ्करदास वैरागी, भारतको विदेश मन्त्रालय र नेपालका परराष्ट्र मन्त्रालयका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]