उद्धार र राहतलाई प्रभावकारी बनाउन एमाले अध्यक्षको माग


kp oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पीडितका लागि उद्धार र राहत प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता ओलीले मुलुकमा उत्पन्न भयावह स्थितिलाई सामना गर्न राष्ट्रिय रुपमा समन्वय र पारस्परिक एकताका साथ लाग्न पनि उहाँले आह्वान गर्नुभयो । उहाँले यही शुक्रबारसम्ममा त्रिपाल वितरण पूरा गर्न तथा निःशुल्क औषधि वितरण र सरसरफाइका अभियान सञ्चालनमा पनि लाग्नुपर्ने बताउनुभयो ।
उहाँले शुक्रबार राति आफ्नो पार्टीले भूकम्पका कारण उत्पन्न सङ्कटका सम्बन्धमा दशबुँदे सुझाव सरकारलाई दिएको उल्लेख गर्दै सो प्रस्तावअनुसार प्रधानमन्त्री सुशील कोइरालाले प्रतिमृतक परिवारलाई रु एक लाख घोषणा गरेको जनाउनुभयो ।

संसद् बैठक वैशाख २६ मा बोलाउन माग
अध्यक्ष ओलीले यस्तो स्थितिप्रति भएका प्रगति, कमजोरी र अगाडि बढ्ने बाटाका सम्बन्धमा जनताका प्रतिनिधिले आफ्ना आवाज उठाउनुपर्ने आवश्यकता भएकाले यही वैशाख २६ गतेका लागि व्यवस्थापिका–संसद्को बैठक डाक्न माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार संसद् वा विपक्षीबाट तर्कनुहुँदैन, जनतामा भएका पिरमर्काको सही सम्बोधन भएको छ, छैन जनप्रतिनिधिलाई भन्न दिनुपर्छ ।” अध्यक्ष ओलीले घरबारबिहीन भएकालाई न्यूनतम व्यवस्था, यसबीचमा भएका वैदेशिक सहयोगलाई व्यवस्थित र मुलुकको आवश्यकताअनुसार सरकारको मातहत र संयोजनमा परिचालन गरिनुपर्ने पनि बताउनुभयो ।
यस्तै सहयोग गर्न तयार मुलुकबाट थप हेलिकोप्टर मगाउन, बाह्रबिसे–कोदारी मार्ग खुलाउने काममा चीनको सहयोग लिन, पीडाको घडीमा अराजकता मच्याउने, लुटपाट, चोरी तथा नेताहरूको बद्ख्वाइँ गर्ने प्रवृत्तिको नियन्त्रण गर्न पनि सरकारलाई सुझाव दिइएको बताउनुभयो । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीले उद्धार र राहतका लागि केन्द्रीय समन्वय समिति गठन गरी सरकारको काममा सघाउँदै पीडित जनतालाई उद्धार र राहत तथा पुनःस्थापनामा सिङ्गो पार्टी परिचालनका लागि आन्तरिक निर्देशन गरिने जानकारी दिनुभयो । एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले सङ्कटका समयमा सञ्चारजगत्ले संयमित भई आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]