प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको ध्यानाकर्षण

भूकम्प पीडितलाई प्रभावकारीरुपमा उद्धार तथा राहतको व्यवस्था हुन नसकेको भन्दै एकीकृत नेकपा(माओवादी)को शीर्ष नेतृत्वले उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको ध्यानाकर्षण गराएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको शीर्ष टोलीले गृहमन्त्रालय पुगी उपप्रधानमन्त्री गौतमलाई ध्यानाकर्षण गराएको थियो । अध्यक्ष दाहालले भूकम्प गएको पाँच दिन हुन लाग्दासमेत गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखालगायतका जिल्लामा सरकारको उपस्थिति नदेखिएको र पीडितले सामान्य मानवीय सेवा समेत नपाएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभएको छ । एमाओवादी नेतृत्वले मङ्गलबार मात्रै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी पाँचबुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । सो दलले संविधानसभाभित्र र बाहिर रहेका दलहरूको सहभागितामा अनुगमन संयन्त्र बनाउन, राहत तथा उद्धारलाई गति दिन पनि आग्रह गरेको थियो । गृह मन्त्रालयमा राखिएको सूचना कक्षको समेत एमाओवादी नेतृत्वले जानकारी लिएको थियो । गृहमन्त्री गौतमलाई भेट्न अध्यक्ष दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव टोपबहादुर रायमाझी गृह मन्त्रालय पुग्नु भएको थियो ।