भूकम्प पीडितलाई आवश्यक सबै सेवा उपलब्ध गराउने सञ्चार मन्त्रीको प्रतिबद्धता

सरकारले भूकम्पबाट पीडित भएका जनतालाई आवश्यक सबै सेवा क्रमिक रुपमा पु¥याउने विश्वास दिलाएको छ । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले महाविपत्तिको यस समयमा केही न केही कमजोरी भए पनि पीडितलाई आवश्यक सबै सेवा पु¥याउन हरसम्भव प्रयत्न गरिने बताउनुभयो । उहाँले भन्नुभयो – सरकारको पहिलो प्राथमिकता घरबारविहीन भएकालाई त्रिपालको व्यवस्था गर्नु हो । सरकारले विभिन्न मुलुकबाट केही दिनभित्रै पाँच लाखभन्दा बढी त्रिपाल ल्याउन लागेको जानकारी पनि उहाँले दिनुभयो । हालसम्म विभिन्न क्षेत्रमा कुल २२ हजार त्रिपाल र चार हजार ७०० पाल वितरण गरिएको छ । पीडितलाई वितरण गर्न करिब पाँच लाख पालको आवश्यकता पर्ने सरकारको बुझाइ छ । भारतबाट आज रातिसम्म करिब एक लाख थान पाल आइपुग्ने भएको छ । पाकिस्तानबाट एक लाख थान र चीन थाइल्यान्डबाट पनि पाल खरिदको व्यवस्था गरिएको छ । भूकम्प पीडितलाई उद्धारका लागि अहिलेसम्म स्वदेशी, नेपाली सेना र विदेशी गरी कुल २१ वटा हेलिकोप्टर प्रयोग गरिएको र धेरैजसो जिल्लामा बिहीबारसम्म उद्धारको काम सक्ने प्रयास गरिएको मन्त्री डा रिजाललको भनाइ छ । कतिपय स्थानमा मौसमी प्रतिकूलताका कारण उद्धारमा कठिनाइ भएको छ । हवाई मार्गबाट ८६६ जनाको आजसम्म उद्धार गरिएको छ भने स्थलमार्गबाट एक हजार ६२ जनाको उद्धार गरिएको छ । अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने राहतलाई पनि एकद्वार प्रणालीबाट मात्रै वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । प्रधानमन्त्री सुशील कोइरालाको संयोजकत्वमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल सम्मिलित अनुगमन संयन्त्र केन्द्रमा बनाइएको छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सोही खालको संयन्त्र बनाइएको छ । छिमेकी मित्रराष्ट्र भुटानबाट रु दश करोड नगद र एसियाली विकास बैंकबाट रु तीस लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिँदै सञ्चार मन्त्री डा रिजालले विभिन्न २५ मुलुकले सहयोगको प्रतिबद्धता जनाए पनि प्राप्त हुन बाँकी रहेको बताउनुभयो । यस्तै, सरकारले राजधानी बाहिर जाने यात्रुको सहजताका लागि आज पाँच सय वटा बसको व्यवस्था गरेको र सो कार्य आगामी दिनमा पनि जारी रहने छ । बिपी राजमार्गलगायत ११ वटा राजमार्गमा रहेको अवरोध खुलाई सवारी सञ्चालन गरिएको छ र अरनिको राजमार्गमा रहेको अवरोध खुलाउने प्रयास जारी रहेको छ । यस्तै, राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउन एक हजार २३४ कल सेन्टर स्थापना गरिएको छ । सो सेन्टरमा हिजो तीन हजार ४६१ कल प्राप्त भएको र आज दिउँसो ३ बजेसम्म तीन हजार ३६६ कल प्राप्त भएको छ । यस्तै, सरकारले भूकम्प प्रभावित १२ जिल्लामा हालसम्म रु ४३ करोड ४० लाख वितरण गरिसकेको छ । प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा रु एक अर्ब ५० करोड जम्मा गरिएको छ । सूचना तथा सञ्चारलाई व्यवस्थित बनाउन एक सञ्चार केन्द्रको स्थापना गरिएको जानकारी दिँदै मन्त्री डा रिजालले ६५ हजार नेपाली सेना, ३१ हजार ५०० नेपाल प्रहरी र १७ हजार सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।