सिन्धुपाल्चोकका नेताहरुले गरे माग सिडियो परिवर्तनको, समन्वयमा काम गर्न नेताहरु तयार


sindhupalchowk (2)भूकम्पबाट बढी क्षति भएको जिल्ला सिन्धुपाल्चोकमा थालिएको उद्धार र राहत कार्यक्रममा सर्वदलीय समन्वय गर्न जिल्लाका विभिन्न पार्टीका सभासद्ले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई भेटी आग्रह गर्नुभएको छ । जिल्लामा मृतकको शव उठाउने, घाइतेको उद्धार र राहत वितरण गर्ने काममा समन्वय भन्दै सभासद्हरूले प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्न पनि सुझाउनुभएको छ । भेटमा सहभागी एमालेका नेता तथा सभासद् अमृतकुमार बोहराले उद्धार कार्य प्रभावकारी नभएको जनाउँदै सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । उहाँले छिमेकी चीनले उद्धारका लागि साना साना हेलिकोप्टर पठाउन अनुमति मागिरहेको र बन्द रहेको कोदारी–बाह्रबिसे खण्ड खुलाउन तयार रहेको जानकारी आएकाले सो सम्बन्धमा पनि विचार गर्न सुझाइएको बताउनुभयो । भेटमा एमाओवादीका सभासद् अग्निप्रसाद सापकोटा, ल्यारकाल लामा, एमालेका शेरबहादुर तामाङलगायत सहभागी हुनुहुन्थ्यो । नेपाली काँग्रेसका सभासद् मोहनबहादुर बस्नेत उपस्थित हुन नसके पनि ती मागमा प्रमुख दलको सहमति रहेको नेता बोहराले बताउनुभयो ।
केही गाविस अझै सम्पर्कविहीन
सिन्धुपाल्चोक जिल्लाको केही गाविस र वडाहरू अझै पनि सम्पर्कविहीन रहेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भोताङ, बरुवा, खाँसखर्क गाविसको वडा नंं ७, ८ र ९ मा पर्ने जतन गाउँ, इचोक गाविसको सुर्सिङ, पातिङलगायत क्षेत्रको अवस्था पनि अझैसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ । मेलम्चीबाट करिब ४० किलोमिटर टाढा रहेका यी क्षेत्रमा पुग्ने बाटोसमेत अवरुद्ध भएको र भौगोलिक अवस्था पनि विकट रहेकाले पुग्न समस्या भएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]