७० घण्टापछि जब भग्नावशेषभित्रबाट कसैले भन्यो, दाई मलाई बचाउनुस्


jibitaiविनाशकारी भूकम्प गएको ७० घण्टापछि पनि केही स्थानमा भत्किएका संरचनाभित्र जीवित अवस्थामा नै व्यक्तिहरु उद्धारको पर्खाइमा रहेको र उनलाई सकुशल उद्धार गरिएको छ । उनलाई उद्धार गर्दा च्यापिएको ८४ घण्टा भइसकेको थियो । अध्यारो कोठामा खु्ट्टा च्यापिएर बसेका उनी थिए ऋषि खनाल । उनलाई थप उपचार गर्न अस्पताल लगिएको छ । उनीसँगै रहेका अर्का एक युवक भने निकै पहिला मृत्युको मुखमा पुगिसकेका रहेछन् ।
यस्तो थियो घटना
गोँगबु नयाँ बसपार्कनजिकै भत्किएको अवस्थामा रहेको सयपत्री गेष्ट हाउसमा चार ÷पाँच व्यक्ति जीवित अवस्थामा नै रहेको सूचनासँगै सशस्त्र प्रहरीको टोलीले आज दिउसो १ बजेदेखि उद्धारको काम सुरु गरेको थियो । फ्रेन्च उद्धार टोलीले भवनभित्र जीवित रहेको पत्ता लगाएपछि सशस्त्रको टोलीले उद्धार सुरु गरेको सशस्त्रका प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो । चारतले घरमा रहेका २८ वर्षीय एक पुरुष उद्धारमा गएको टोलीसँग सम्पर्कमा थिए । सशस्त्र प्रहरीका डा अरुण श्रेष्ठले साझ ६ बजेतिर अक्सिजनको कमी नहोस् भनेर पीडितहरु पुरिएको स्थानमा प्वालबाट अक्सिजन दिएर फर्किनुभएको थियो । जीवित व्यक्तिसँगै धेरै अन्य व्यक्तिको शव पनि गन्हाइरहेका अवस्था रहेको र गन्धका कारण त्यहाँ धेरैबेर बस्न पनि नसक्ने अवस्था थियो । सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त स्वयम् गोँगबुमा उपस्थित भई उद्धार कार्यको विवरण लिइरहनुभएको थियो । पुरिएर रहेको व्यक्तिसँगै घर जोडिएको अर्को बुटवल श्रीनगर गेष्ट हाउसमा शनिबार भूकम्प गएको अवस्थादेखि अहिलेसम्म चुलोमा ग्यास बलिरहेको थियो । सो भवनको भित्री भागमा ग्याँस बलिरहेको देखिए पनि भत्किएको संरचनाका कारण अहिलेसम्म सो ग्यास निभाउन सकिएको छैन । सो ग्यासबाट आगलागी भएमा सो क्षेत्रमा ठूलो आगलागी हुने त्रासले सर्वसाधारणहरु आतङ्कित छन् । यो क्षेत्रभन्दा ५० मिटर पर गोँगबुमै रहेको सिन्धुली पाँचथर मुना गेष्ट हाउसमा पनि एक व्यक्ति जीवित रहेको रहेका सूचना प्राप्त भएको छ । मलेसियन उद्धार टोलीले ती व्यक्तिको उद्धारका लागि प्रयास गरिरहेका छन् । शनिबार भूकम्पलगतै सहज स्थानमा रहेका घाइतेहरुको उद्धार भए पनि पूर्ण क्षतिग्रस्त भवनभित्र थिचिएर रहेका घाइतेहरुको अझै पूर्ण रुपमा उद्धार हुन सकेको छैन । विभिन्न स्थानमा दर्जनको हाराहारीमा भत्किएका संरचनाभित्र जीवित व्यक्तिहरु रहेको अनुमान गरिए पनि उनीहरुको उद्धार गर्न कठिनाइ भइरहेको छ । भूकम्पलगतै लगातार दिनहुँ भूकम्पका झड्काहरु आएपछि त्रासका कारण सहज रुपमा उद्धार हुन नसकेकामा सोमबारदेखि भने उद्धार कार्यले तीव्रता पाएको छ । विभिन्न स्थानबाट भूकम्प आएको तीन दिनपछि केही घाइतेको उद्धार गर्न नेपाली सुरक्षाकर्मी र विदेशी सुरक्षाकर्मीको उद्धार टोली सफल भएको छ । गोँगबु बसपार्क अगाडिको एउटा सात तले भवन भत्किएर पुरिएका २० वर्षीय एक युवकको आज बिहान ६० घण्टापछि जीवितै उद्धार गरिएको थियो । भूकम्पबाट भत्किएको उक्त घरको दोस्रो तलामा ती व्यक्ति रहेका भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी, चिनियाँ र टर्कीको टोलीको समेत सहभागितामा सो उद्धार सफल भएको हो । यी घटनाहरुले भूकम्पका कारण भत्किएको संरचनाभित्र रहेका केही जीवित व्यक्तिहरुको उद्धार हुने सम्भावना बलियो बन्दै गएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]