अत्यावश्यक वस्तु वितरण गरिँदै, काठमाडौंबाट बाहरिनेको संख्या बढ्दो

सरकारले सर्वसाधारणका लागि आवश्यक पर्ने पानी, खाद्यान्न लगायतका वस्तु वितरणको निम्ति संगठित प्रयासलाई अझ अघि बढाएको छ । नेपाली सेनासँग, प्रहरीसँगको समन्वयमा विभिन्न ठाउँमा खाद्यान्न वितरण र उपचार केन्द्रहरुका साथै उद्धारका निम्ति सम्पर्क केन्द्रहरु पनि खोलिएका छन् । अर्कोतर्फ, काठमाडौंमा मानिसहरुको चाप विस्तारै कम हुँदै गएको छ । भूकम्पको त्रास कम हुँदै जाँदा मानिसहरु विस्तारै सामान्य जीवनमा फर्कने प्रयत्न गरिरहेका छन् । काठमाडौँ उपत्यकामा क्रमशः सवारी साधन सञ्चालन हुन थालेका छन् । मुख्य सडकहरुमा बाक्लो सङ्ख्या देखिए पनि भित्री सडकमा फाट्टफुट्ट मात्र सवारी साधन चलेका छन् । भूकम्पको त्रास कम भएसँगै उपत्यकाका तीनवटै जिल्लाका खुल्ला स्थानमा बसेका मानिसहरु क्रमशः घर फर्कन थालेका छन् भने सडक चोकमा मानिसको भिडभाड बढेको छ । राजधानीबाट विभिन्न जिल्लातर्फ बाहिरिने मानिसको सङ्ख्या बाक्लिएको छ । मुख्य नाकाहरु कलङ्की, गोंगबु बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खुलगायत क्षेत्रमा यात्रुहरुको चाप बढेको छ । विभिन्न जिल्लाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधन सामान्य रुपमा सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दो छ, हिजो मात्र ८५ हजार ६२९ जना बाहिरिएका थिए भने आज पनि ठूलो सङ्ख्यामा यात्रुहरु गइरहेका छन् । राष्ट्रिय विपत्मा यात्रु ठगी विपत्मा परेका सर्वसाधारण यात्रुको फाइदा लिएर बस व्यवसायीले मनोमानी रुपमा चर्को भाडा असुली गरिरहेका छन् । भूकम्पको त्रास र आउनसक्ने महामारीबाट जोगिन गन्तव्यतर्फ जान बाध्य यात्रुलाई बस व्यवसायीले नियमितभन्दा दोब्बर भाडा लिइरहेको यात्रुहरुले गुनासो गरेका छन् । अधिकांश यात्रुले चर्को मूल्य तिरे पनि बसको सीट पाउन सकेका छैनन् केही यात्रु ट्रकलगायतका साधनमा कोचिएर पनि यात्रा गरिरहेका छन् । उपत्यका विभिन्न नाकाबाट नियमित रुपमा दैनिक तीन हजारभन्दा बढी सवारीसाधन बाहिरिने गरेका छन् भने त्यत्तिकै सङ्ख्यामा सवारीसाधन भित्रिने गरेका छन् ।