सगरमाथामा हिमपहिरोमा परी १९ को मृत्यु, अन्य सबैको उद्धार


base1भूकम्पका कारण सगरमाथाको आधारशिविरमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने ६१ जना बढी घाइते भएका छन् । तीमध्ये १८ को आधारशिविरमा र एक जना घाइतेको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथाको आधारशिविरमाथि आइसफल (हिउँको ढिस्को) फुटेर बाटो अवरुद्ध हुँदा क्याम्प १ मा ९० र क्याम्प २ मा १२० जना पर्यटक अड्किएकाले हेलिकोप्टरमार्फत उनीहरुको उद्धार कार्य भइरहेको छ । उनीहरुमध्ये केही घाइते पनि रहेकाले क्रमशः आधारशिविर हुँदै घाइतेलाई फेरिचे र अन्यलाई लुक्ला हुँदै काठमाडौँ ल्याइँदै गरेको सचिव श्रेष्ठले बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा क्षेत्रमा पहिरोमा परेका सबैको उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको जानकारी दिनुभयो । उहाँले घाइतेहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नागरिक अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, काठमाडौँ मेडिकल कलेज, कान्तिपुर हस्पिटलमा उपचार भइरहेको बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार हिमपहिरोमा परी मृत्यु हुनेमा बढी नेपाली र केही विदेशी पर्यटक छन् । हाल सगरमाथा आरोहणको याम भएकाले त्यस क्षेत्रमा विभिन्न आरोहण दलका ८०० भन्दा बढी आरोही तथा तिनका सहयोगी शेर्पाहरु रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]