मृत्यु हुनेको संख्या २४ सय ३० पुग्यो, आतंकीत पार्ने हल्लाकारीको सरकारले निगरानी गर्दै

भूकम्पबाट मुलुकमा गएको जनधनको क्षतिका विषयमा गृह मन्त्रालयले नियमित बुलेटिन प्रकाशित गरेको छ । साँझ प्रकाशित यस बुलेटिनमा हालसम्म २४ सय ३० जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ । जसमा काठमाडौं उपत्यकामा ११ सय ५२ जना र उपत्यका बाहिर १२ सय ७८ जनाको ज्यान गएको लेखिएको छ । त्यस्तै मुलुकभर ५ हजार ९ सय ३६ जना घाइतेको उपचार भइरहेको छ । जनधनको क्षतिको विवरण आउने क्रम जारी रहेको पनि गृह मन्त्रालयले जनाएको छ । उद्धारका लागि नेपाली सेना, निजी क्षेत्र तथा मित्रराष्ट्र भारत सरकारबाट आएका हेलिकोप्टरबाट रसुवा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिंग, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा घाइते रहेकाहरुको उद्धार गरी अस्पतालमा पुर्याइएको पनि विज्ञप्तिमा जनाइएको छ । काठमाडों उपत्यकामा १६ वटा सेल्टर खडा गरी भूकम्पबाट विस्थापतको सेवा प्रवाह गरिएको पनि गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले भूकम्प जान्छ, ज्वालामुखी विस्फोट हुन्छ भन्ने जस्तो हावादारी समाचार सम्प्रेष्ण गरी समाजलाई आतंकीत पार्नेहरुमाथि निगरानी गरिएको र कानूनी कारवाही हुने व्यहोरा पनि गृह मन्त्रालयकका प्रवक्ता लक्ष्मी ढकालले उल्लेख गर्नुभएको छ । यस्ता हल्लाको पछि नलाग्न उहाँले सबैमा अपिल गर्नुभयो ।