बारम्बारको धक्काले सर्वसाधारण आकुल व्याकुल

शनिबार विहान करिब १२ बजे आएको ठूलो भूकम्पपछि आएका बारम्बारका धक्काहरुले सर्वसाधारणलाई त्रसित बनाएको छ । पछिल्लो पटक आज दिउँसो आएको ६ दशमलब ९ रिक्टर स्केलको काठमाडौंबाट पूर्वतर्फ कोदारी केन्द्रविन्दू भएको भूकम्पपछि अब सर्वसाधारणमा झन बढी कोलाहल मच्चिएको छ । यसैबीच, प्रधानमन्त्री सुशील कोइरालाले स्वदेश फर्किएपछि सबै नेपालीमा धैर्यतापूर्वक बस्न र एकले अर्कालाई सहयोग गर्न आह्वान गर्नुभएको छ । विज्ञहरुले पनि यतिबेला केही भन्न सकेका छैनन् । यी भूकम्प पहिलो भूकम्पपछिका धक्काहरु हुन् वा नयाँ नै भूकम्प आइरहेको छ भन्ने कुरा स्पष्ट नभइसकेपनि रातभरि खुला ठाउँमा बसेका सर्वसाधारण अझ बढी आतंकीत बनेका छन् । भारत र चीनबाट सहयोग सामग्रीसहित आएका टोलीले यतिबेला सम्भावित मानिसहरु च्यापिएका ठाउँहरुमा उद्धारलाई प्राथमिकता दिएका छन् । उपत्यका बाहिरको विवरण स्पष्ट रुपमा आउन सकेको छैन । जहाँबाट आएको छ त्यो पनि पूर्ण आउन नसकेका कारण उद्धारकार्यलाई केन्द्रित गर्न कठिनाई भइरहेको छ । काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउनेहरुको संख्या हजारौंमा पुगेको छ । यस विपतको घडीमा छिमेकी मित्रराष्ट्रहरु र विदेशी देशहरुले दिएको सहयोग र तत्परता प्रशंसायोग्य बनेको छ । विदेशमा रहेका नेपाली समूदाय यतिबेला अझ बढी व्याकुल बनेका छन् । आफन्तजनको पीडाको यो घडीमा उनीहरु कसरी सहयोग गर्न सकिन्छ । के गर्न सकिन्छ भन्ने चिन्तनमा नै लागेका देखिन्छ । प्रधानमन्त्रीसहित केही समय अघि बसेको बैठकका बीचमा नै भूकम्प आएपछि सिंहदरबारमै समेत भागाभागको अवस्था थियो । विजुली अबरुद्ध भएको र काठमाडौंमा रहेको भारप्रेषण केन्द्रमै गडबडी आएका कारण भारतबाट विज्ञहरुको टोली आइरहेको बताईन्छ । २१ सय भन्दा बढीको ज्यान गइसकेको अवस्थामा १७ जनाको सगरमाथा आधारशिविरमा मृत्यु भएको छ । घाइतेहरुको उद्धारको निम्ति हेलिकोप्टर पुगेको छ । सरकारले विपतमा परेकाहरुलाई निःशुल्क खाना उपलब्ध गराउनका लािग मोबाइल टोली निर्माण गरेको छ । यस्तै प्रभावित ठाउँमा एकीकृत उद्धार समिति गठन गरिएको छ । नेपाललाई सहयोग गर्नका लागि पाकिस्तान र भुटानबाट पनि छुट्टाछुट्टै टोली आउँदै गरेका छन् । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले व्यापारीहरुलाई सुरक्षित रहँदै अत्यावश्यक सामानको सुचारु आपूर्तिका लागि आह्वान गरेको छ । विपतको यो समयमा मानवीय भावले समेत सेवा गर्न उसले अनुरोध गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले विपतको यो घडीमा जस्तोसुकै सहयोग गर्न पनि आपूmहरु तत्पर रहेको जनाएको छ ।
सञ्चारमाध्यमको अवस्था
विद्युत आपूर्ति बन्द हुँदा र बारम्बारको भूकम्पका कारण धेरै सञ्चारमाध्यम यतिबेला बन्द अवस्थामा छन् । केही नेपाली सञ्चारमाध्यम भने सीमित व्यक्तिले निरन्तरता दिने अवस्थामा छन् । नागरिक दैनिकले आइतबार दिउँसो एक दिनका लागि पत्रिका बन्द गर्ने निर्णय गरेको छ । सोमबार नागरिक प्रकाशित नभएपनि उसको अनलाईन संस्करण भने चालू रहनेछ । यस्तै काठमाडौंमा स्टुडियो रहेका केही टेलिभिजनहरु पनि चलेका छैनन् । चलेका टेलिभिजनहरु पनि निश्चित समय मात्रै चलिरहेका छन् । टेलिभिजन हेर्नका निम्ति दर्शकहरु नहुने र सबै खुला स्थानमा भएका कारण चलाउनुको औचित्य समेत नरहेको केहीले बताएका छन् । अर्कोतर्फ, रेडियो नेपालले भरपूर सेवा पुर्याएकोमा यसको प्रशंसा भएको छ । मानिसहरु चोक चोकमा बसेर रेडियो सुनिरहेका छन् । मुख्यत अनलाईन सेवाहरुले आफ्नो सूचनाको तिव्रतालाई अघि बढाएका छन् । उनीहरुले जहाँ ईन्टरनेट र विजुली छ त्यहीँ आफ्नो डेस्क स्थापना गरेर कार्य गरिरहेका छन् । क्यानडा नेपाल, डिसी नेपाल, एमएनटीभी लगायत विदेशमा केन्द्र रहेका अनलाईनहरुले पनि निरन्तर सर्वसाधारणलाई सुसूचित गरिरहेका छन् ।