भिक्टोरियामा आजबाट कोरोना प्रतिबन्ध झनै खुकुलो, ७५ प्रतिशत कर्मचारी कार्यालय जान पाउने !

मेलबर्न, अष्ट्रेलिया ।

कोभिड १९ कोरोना विरुद्धको खोप लगाउने क्रम एकातिर जारी छ भने अर्कोतर्फ भिक्टोरियाले क्रिसमस अगाडिदेखिकै योजना अनुरुप खुल्ला स्थितिमा राज्यलाई लगेको छ । आजबाट भिक्टोरियामा सामाजिक जमघटमा १ सय जनासम्मको संख्या तोकिएको छ भने मास्क अनिवार्य गरिएको छैन । यस्तै कार्यालयहरुले आफ्नो कामदारको ७५ प्रतिशतलाई काममा बोलाउन सक्नेछन् । प्रिमियर डेनियल एन्ड्रयूजले उच्च जोखिमयुक्त क्षेत्रहरु र्आत् एज्ड केयर, सार्वजनिक यातायात, राईडशेयर कार तथा ट्याक्सीहरु र सुपरमार्केटहरुमा मात्रै मास्क अनिवार्य गरिएको छ ।

यस्तै भिक्टोरियावासीहरुले घरमा ३० जनासम्म अतिथिलाई बोलाउन सक्नेछन् भने सार्वज्निक स्थलहरुमा जमघटका लागि १ सय जनासम्मको संख्या तोकिएको छ । क्रिसमसको पूर्वसन्ध्यामा कोभिड १९ कोरोना नियन्त्रणका बेला यही तहसम्म पुगिसकेपनि चाडवाड र नयाँ वर्षको बेला महामारी फैलिनसक्ने जोखिमका कारण प्रतिबन्धहरुलाई यथावत राखिएको थियो । पछि होटल क्वारेन्टीनबाट दोश्रो लहर फैलिएको थियो । पछिल्लो समय होटल क्वारेन्टीनबाट फैलिएको कोभिड १९ संक्रमण १९ फेब्रुअरीमा नियन्त्रणमा आएपछि प्रतिबन्धहरुलाई खुकुलो बनाइएको हो ।

प्रिमियर एन्ड्रयूजले यो शुभ समाचार सबै भिक्टोरियावासीको एकताबद्ध सहकार्यको प्रतिफल भएको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?