पत्रकारको लागि उपचार कोष र आम सञ्चार नीति आउने

सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले पत्रकार उपचार कोष र राष्ट्रिय आम सञ्चार नीति छिट्टै ल्याउने तयारीमा सरकार जुटेको बताउनुभएको छ । लोकतन्त्र दिवसका अवसरमा नेपाल प्रेस युनियन काठमाडौँले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले भन्नुभयो, “राष्ट्रिय आम सञ्चार नीति मस्यौदालाई छलफल र अन्तरक्रिया गरी अन्तिम रुप दिइनेछ, त्यसपछि मात्रै मन्त्रिपरिषद् बैठकमा लगी नीति पारित गरिनेछ ।” नीति आएपछि अहिलेको भन्दा प्रेस जगतलाई राम्रो हुने बताउँदै उहाँले यसका लागि सहयोग गर्न सबै सञ्चार सम्बद्ध संस्थालाई आग्रह गर्नुभयो । पेसागत र भौतिकरुपमा असुरक्षित रहेका पत्रकार प्राकृतिकरुपमा समेत असुरक्षित भएकाले उपचार कोषको व्यवस्था गर्ने गृहकार्यमा लागेको समेत उहाँले बताउनुभयो । “घरपरिवारबाटै पत्रकारको उपचार हुन सक्ने अवस्था नभएकाले दुर्घटना, एवम् आकस्मिकरुपमा लाग्ने रोगबाट पत्रकारलाई बचाउन कोषको व्यवस्था गर्न लागिएको हो”– सञ्चार मन्त्रीले भन्नुभयो । वरिष्ठ पत्रकार हरिहर विरहीले देशमा सरकारले शासन गरेजस्तो अनुभूति जनताले गर्न नसकेको धारणा राख्नु भयो नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले अप्ठ्यारो अवस्थामा पर्दा पत्रकारलाई उपचार गर्न कोषको व्यवस्था गराउन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । “लोकतन्त्र स्थापनाका लागि प्रेस जगत्ले सहयोगी भूमिका निर्बाह गरेकाले लोकतान्त्रिक सरकारले प्रेसलाई बलियो बनाउने नीति नियम तर्जुमा गरेमा लोकतन्त्र पनि बलियो हुनेछ ”– उहाँले भन्नुभयो । कार्यक्रममा पत्रकार कविर राणा, युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायतले नेपालमा पत्रकारिता जगतलाई सुरक्षित बनाउन पत्रकार उपचार कोष अविलम्ब बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।