असारसम्म संविधान आउने एमाले वरिष्ठ नेता खनालको भनाई

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले दिगो शान्ति र स्थायित्वका लागि आगामी असारसम्ममा संविधान जारी हुने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र फिक्कलमा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेता खनालले सबै दलका सहमतिका आधारमा संविधान जारी हुन्छ भन्नुभयो । “सहमतिका लागि मुख्य दलका शीर्ष नेतासँगको बैठकले अधिकतम सहमतिमा संविधान जारी गर्ने विषयमा सहमति जुटाउँछ, सहमति नभएमा मात्र प्रक्रियाबाट अघि बढेर भए पनि संविधान जारी हुन्छ”, खनालले आफ्ना मतदाता र कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो । “शीर्ष नेताको बैठक बसिरहेको छ, यसले सहमतिमा संविधान जारी गर्ने वातावरण सिर्जना गर्छ”, खनालले भन्नुभयो, “शीर्ष नेतृत्वबीच वार्ता सकारात्मक तरिकाले अघि बढेकाले सहमतिका आधारमा संविधान जारी हुन्छ ।” संविधान निर्माणका लागि आफ्नो पार्टी हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउँदै उहाँले सहमतिबाट जारी भएको संविधान मात्र दीर्घकालसम्म रहने विश्वास व्यक्त गर्नुभयो । एकीकृत नेकपा(माओवादी)नेतृत्वको मोर्चा पनि अहिले संविधान निर्माणमा सकारात्मक बन्दै गएकाले असारभित्रै संविधान जारी गरेर मुलुकलाई समाधान दिने उहाँको भनाइ छ । इलाम क्षेत्र नं १ का सभासद्समेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले यस क्षेत्रको विकासका लागि आफूले सरकारसँग विशेष पहलकदमी लिएको बताउनुभयो ।