नाग्मा–गमगढी सडक स्तरोन्नतिका लागि पुगेन बजेट

कर्णाली । बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो ।

बजेट सकिएपछि सङ्घीय सरकारले दोस्रो चरणमा रु पाँच करोड छुट्याएको थियो । उक्त रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो । “लागत अनुमानअनुसार काम भएको छैन”, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले भने, “बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ ।” बजेट अभावले ठेकेदारलाई रु १२ करोड भुक्तानी गर्न समस्या भएको डिभिजन प्रमुख भण्डारीले बताए । सो सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि रु २० करोड आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

चालु आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको प्रमुख भण्डारीले बताए । मुगुको गमगढीबाट कालिकोटको नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ र थोकेर, हिरा र नमिता खड्का, कृष्ण र गाल्वा बानियाँ तथा शङ्कर निर्माण सेवाले लिएका छन् । चालु आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team