
मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रयूजले लगातार चौथो दिन कोभिड १९ कोरोना संक्रमण शून्य सफलता हासिल भएपछि अब बिहीबार या शुक्रबार प्रतिबन्धलाई थप खुकुलो बनाउने घोषणा गर्ने बताएका छन् ।
गएको २४ घण्टामा १७ हजार २ सय ७० परीक्षणका नतिजाहरु प्राप्त भएका थिए । गएको एक साता अघि होटल क्वारेन्टीनको कर्मचारीबाट समूदायस्तरमा कोरोना फैलिएपछि रोकिएको अन्तर्राष्ट्रिय उडान सुचारु हुन सकेको छैन । त्यस प्रकरणमा ३५ सय भन्दा बढी व्यक्तिहरुलाई क्लोज कन्ट्याकका रुपमा आईसोलेसनमा राखिएको थियो भने २२ जनालाई संक्रमण भएको थियो । बिहीबार एन्ड्रयूजले अन्तर्राष्ट्रिय उडानका विषयमा पनि घोषणा गर्नेछन् ।
अचानक गर्नुपरेको लकडाउनअघि भने कार्यालयहरुमा ७५ प्रतिशत कर्मचारी आउन पाउने गरी प्रतिबन्ध खुकुलो बनाउने योजना थियो । अबको घोषणामा एन्ड्रयुजले त्यही विषयलाई समेट्ने धेरैको अपेक्षा छ ।
उता राज्यमा फाईजर खोप लगाउने दोश्रो दिन चलिरहेको छ । यस साताभित्र १२ हजार जनाले खोप लगाइसक्ने अपेक्षा छ ।