भिक्टोरियामा शून्य कोरोना संक्रमण, यो साता १२ हजार जनाले खोप लगाउने

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाभर आजबाट कोभिड १९ कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री, मन्त्रीहरु र केही समूदायिक समूहका व्यक्तिहरुलाई खोप लगाएर हिजोबाट सुरु भएको यो अभियानको निर्धारित तालिका अनुसार आज विभिन्न राज्यका सूचिकृत व्यक्तिहरुले खोप लगाउँदैछन् ।

भिक्टोरियाले पहिलो सातामा १२ हजार डोज खोप प्राप्त गरेको छ भने आगामी चार साताभित्र उसले ५९ हजार खोप प्राप्त गरिसक्नेछ । सुरुवाती चरणमा मोन्यास मेडिकल सेन्टर, सनसाईन हस्पिटल, अस्टिन हेल्थ एण्ड युनिभर्सिटी हस्पिटल जीलोंगबाट खोप लगाउने कार्य अघि बढेको छ । सुरुवातमा स्वास्थ्यकर्मीहरु, होटल क्वारेन्टीनका कामदार र एज्ड केयरमा काम गर्ने व्यक्तिहरु प्राथमिकतामा छन् ।

यसैबीच, भिक्टोरियामा गएको २४ घण्टामा शून्य कोभिड १९ कोरोना संक्रमित फेला परेका छन् । यो सफलता लगातार तेश्रो दिन जारी छ । गएको २४ घण्टामा ८ हजार २ सय ७७ परीक्षणहरु गरिएका थिए । जसमा समूदायस्तरमा र होटल क्वारेन्टीन दुबैतर्फ कुनै नयाँ संक्रमित भेटिएनन् ।

भिक्टोरियामा गत साता लगाइएको प्रतिबन्धहरु हटेका छन् । तर, अन्तर्राष्ट्रिय उडान खोल्ने विषयमा भने कुनै निर्णय भएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team