
काठमाडौँ । महोत्तरीबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारलाई पक्राउ गरिएको छ । घुस रकमसहित सशस्त्र प्रहरी बल महोत्तरीका सशस्त्र प्रहरी वरिष्ठ हवलदार सरबन कुमार बस्नेत पक्राउ परेका हुन् ।
१५ हजार घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सुरक्षा वेश रामनगर, गौशालामा कार्यरत वरिष्ठ हवलदार बस्नेतलाई पक्राउ गरेको हो ।
बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएको आयोगले जनाएको छ ।
अनुसन्धानको सिलसिलामा हवल्दार बस्नेतले घुस रकम लिएको पुष्टि भएको भन्दै आयोगले आज उनीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।