प्रधानमन्त्री कोइराला इन्डोनेसियामा, फर्कदा थाईल्याण्डमा उपचार गरेर आउने


???????????????????प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै इन्डोनेसिया जानुभएको छ । उहाँको त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरू, मुख्य सचिव, सुरक्षा निकायका प्रमुखहरू, सरकारका उच्च पदस्थ पदाधिकारी, विदेशी नियोगका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो । साथै उहाँको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जकार्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सव वाङ्डुङ सहरमा यही वैशाख ११ गते आयोजना हुनेछ । नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै यसमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यसै सम्मेलनले जन्मदिएको पञ्चशीलको सिद्धान्तले विश्वमा शीतयुद्धको अन्त्य गरी दिगो शान्ति, समृद्धि, सहअस्तित्व र असंलग्नतामा नयाँ उचाइ थपेका कारण वाङ्डुङ सम्मेलनलाई ऐतिहासिक सम्मेलनका रूपमा लिइन्छ । समारोहमा एसिया तथा अफ्रिकीका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहनेछ । एसियाली तथा अफ्रिकी मुलुकबीचको साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्य ती दुवै सम्मेलनले राखेका छन् । यही वैशाख ९ र १० गते राष्ट्र तथा सरकार प्रमुखहरूको सम्मेलन आयोजना हुने कार्यक्रम तय भएकोे छ । पहिलो दिन सम्मेलनको उद्घाटन भाषण इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले गर्नुहुनेछ भने सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । यसैगरी, प्रधानमन्त्री कोइरालाले इन्डोनेसियाका राष्ट्रपतिले दिनुहुने रात्रिभोजमा पनि सरिक हुुनुहुनेछ । प्रधानमन्त्री कोइरालाले वैशाख १० गते सम्पन्न हुने सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आउनुभएका आफ्ना समकक्षीहरूसँग पनि भेटघाट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कोइराला यही वैशाख १५ गते स्वदेश फर्किने कार्यक्रम छ । सम्मेलनअन्तर्गत मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार र सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी वैशाख ४ गते नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । ती दुवै सम्मेलनमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्राडा करवीरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायतको सहभागिता रहने छ । सम्मेलन सकेर स्वदेश फर्कदा करिब ४ दिन थाईल्याण्डमा बसी आफ्नो क्यान्सरको थप उपचार गराउने योजना प्रधानमन्त्रीको छ ।
एक रात थाईल्याण्डमा
प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकर्ता र वाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सवमा सहभागी हुनेक्रममा एक रात थाईल्याण्ड बस्नुभएको छ । आज विहानै उहाँ त्यसतर्फ लागिसक्नुभएको छ । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको शिखर सम्मेलन जाकर्तामा यही वैशाख ९ र १० गते तथा एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वार्षिकोत्सव वाङ्डुङमा वैशाख ११ गते आयोजना हुनेछ । पहिलो सम्मेलन विसं २०१२ मा इन्डोनेसियाको वाङ्डुङमा भएको थियो । विसं २०६२ वैशाख ९–११ गते आयोजना भएको एसिया अफ्रिकी सम्मेलनको ५० औँ स्मृतिसभाले नास्प सिर्जना गरेको थियो । प्रधानमन्त्री कोइरालालाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डका लागि नेपाली राजदूत खगराज अधिकारी एवम् दूतावासका वरिष्ठ अधिकृत एवम् थाइल्यान्डका परराष्ट्र मन्त्रालयका दक्षिण एसिया, मध्यपूर्व र अफ्रिका हेर्ने विभागका कामु महानिर्देशक सतिवत वाङ सिनवान्तले स्वागत गर्नुभएको थियो । थाई एयरवेजको टिजी ३२० विमानद्वारा प्रधानमन्त्री यहाँ आइपुग्नुभएको हो ।
शिष्टाचार भेट
प्रधानमन्त्री कोइरालासित थाइल्यान्डका विभागका कामु महानिर्देशक वाङ सिनवान्ताले आजै शिष्टाचार भेटघाट गर्नुभयो । उहाँहरूबीच नेपाल र थाइल्यान्डबीचका आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री कोइराला मङ्गलबार बिहान जाकर्तातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र सल्लाहकार भट्टराई, प्रधानमन्त्री कोइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, निजी चिकित्सक प्रा डा कविरनाथ योगी, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला तथा सञ्चारकर्मी हुनुहुन्छ । पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै नेपालले सक्रिय रुपमा भाग लिँदै आएको छ । यसै सम्मेलनले जन्म दिएको पञ्चशीलको सिद्धान्तले विश्वमा शीतयुद्धको अन्त्य भई शान्ति, समृद्धि, सहअस्तित्व र असलग्नमा नयाँ उचाइ थप गरेका कारण वाङ्डुङ सम्मेलनलाई ऐतिहासिक सम्मेलनका रुपमा लिइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]