बालुवाटारमा प्रमुख तीन दलको बैठक, एजेन्डा संविधान लेखनदेखि प्रधानमन्त्रीको भ्रमणसम्म


संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलको बैठक आज बिहान ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नयाँ संविधानका अन्तर्वस्तुमा दलबीच देखिएको मतभेदलाई सहमतिमा रूपान्तरण गर्ने विषयमा केन्द्रित रहेर बैठकमा छलफल भइरहेको छ । यस्तै प्रधानमन्त्री सुशील कोइरालाको विदेश भ्रमणको विषय पनि आजको भेटको एजेन्डा रहेको सहभागी एमाओवादी नेताले बताए । छिटो भन्दा छिटो संविधान जारी गर्न सहमति भएका विषयलाई सहमतिकै आधारमा मस्यौदा लैजाउँ भन्ने पाटोबाट एमाओवादीसँग छलफल गर्ने सोच बनाएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । प्रमुख राजनीतिक दलबीच खासगरी राज्य पुनःसंरचनामा जाँदा प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनका विषयमा गम्भीर मतभेद रहँदै आएको छ । शासकिय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा मसिनोसँग सहमति हुन सकेको छैन ।
यसअघि हिजो बसेको नेपाली काँग्रेस र नेकपा (एमाले) ले संविधानका विवादित विषयमा सहमतिको प्रयासका लागि एमाओवादीसँग एकपटक छलफल गर्ने र सहमति नभएमा संविधानसभाको प्रक्रियालाई अघि बढाउने भएका छन् । दुई सत्तारुढ दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमतिका लागि विपक्षी तीस दलीय मोर्चालाई अगुवाइ गरिरहेको एमाओवादीसँग वार्ता गर्ने समझदारी भएको एमालेका उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो । Three Parties Meetingछलफलमा प्रधानमन्त्री तथा काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओलीसहितको नेता उपस्थित हुनुहुन्थ्यो । उहाँले सकेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभएमा अब संविधानसभाको बैठकलाई नियमित गरी प्रक्रिया अघि बढाइने बताउनुभयो । एमाओवादी र मधेस केन्द्रित दलले अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताका आधारमा संविधान आउनुपर्ने अडान राख्दै आएको छ । काँग्रेस र एमालेलगायत सत्तारुढ दलले चाहिँ विवादित विषयमा आफूहरूले प्रस्तुत गरेको अवधारणामा आधारित भएर छलफल गर्न आग्रह गर्दै आएको छ । संविधानसभाको गत माघ २९ को बैठकमा प्रस्तुत प्रश्नावली (प्रस्ताव) समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने प्रक्रियामा लैजाने वा सहमतिका आधारमा विवादित विषयलाई टुङ्गो लगाउने भन्नेबारेमा सहमतिमा पुग्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि शीर्ष नेतालाई पटक–पटक ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]