फुपुको बदला लिन भागरथीको हत्या गरेँ : अभियुक्त !

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा एकजना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा सोही ठाउँका १७ वर्षीय दिनेश भट्ट छन् । उनले हत्या आफैँले गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । भागरथी मृत भेटिएको १३ औँ र बेपत्ता भएको १४ औँ दिनमा प्रहरीले भट्टलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताए । उनले बयानका क्रममा अपराध स्वीकार गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक सिंह बताउँछन् ।

भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा ।

उनले परिवारको पूरानो रिसिबीका कारण उनको हत्या गरिदिएको प्रहरीसँगको बयानमा भनेको अनुन्धानमा संलग्न प्रहरी स्रोतले बताएको छ । घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो । ती युवक भागरथीको न्यायका लागि हुने प्रर्दशनमा समेत सहभागी हुने गरेका थिए । अभियोग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ ।

तर हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ । अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । उनलाई अभियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।”

साबिति बयानका क्रममा दिनेशले आफूले फुपुको बदला लिन भागरथीको हत्या गरेको बताएका छन् । दिनेशको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो–,“भागरथीका बुबाले मेरी फुपीमाथि नराम्रो गरेका थिए । त्यसैको बदला लिन सडकबाट धकेलेर पछि घाँटी थिचेर मारेको हुँ ।

उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो ।

तर भागरथी महिनाबारी भएको देखेपछि बलात्कार भने आफूले नगरेको बयान किशोरले दिएको ती प्रहरी अधिकारीले बताए । ‘रेप गर्न खोज्दा मिन्स भएको देखेँ अनि छोडिदिएँ’, अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।

घटनापछि भागरथीलाई न्याय माग्दै भएको प्रदर्शनमा पनि ती किशोर हरेक दिन सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ । तर भागरथीको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ। पक्राउ परेका किशोरलाई बुधबार दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team