आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन


A devotee prepares to take a holy dip at Matathirtha to observe Mother's Day in Kathmanduजन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफंैमा महत्वपूर्ण छ,” – गौतमले भन्नुभयो । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । श्री स्वस्थानी व्रतकथाअनुसार यस तीर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । उक्त स्थानमा शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ । पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवम् अनेक तीर्थव्रतभन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने प्राचीन जनविश्वास रहेको स्थानीयवासी नारायण आचार्यले बताउनुभयो । प्रचलित किंवदन्तीमा भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीयवासीले आक्रमण गरे । उनीहरूबीचको घमासान युद्धका कारण दुवै पक्ष आकुल व्याकुल बन्न पुगे । उक्त समयमा सीतालाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै गङ्गाजीको स्तुति गर्दै तीनपटक मन्त्र उच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बनेको भनाई छ । त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तिमा कोरिन पुग्यो । किंवदन्तीअनुसार उक्त समयमा त्यहाँ घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नराखी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्किन नमानी आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनु भन्ने वाचाका साथ छोरालाई सम्झाएर फर्काइछन् । त्यसै बेलादेखि यस ठाउँको नाम मातातीर्थ रहेको हो । यसै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।
तस्वीर नभेष चित्रकार

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]