सिड्नीको एसफिल्डस्थित काउन्सिल लाईब्रेरीमा अब नेपाली पुस्तक पढ्न पाइने


IMG_018012अष्ट्रेलिया आउने नेपालीहरुको पहिलो गन्तव्य सिड्नी हो र सिड्नीमा पनि एसफिल्डमा धेरै नेपालीहरु पहिलो पटक आइपुग्छन् । यसैले एसफिल्डलाई नेपालीहरुको घना आवादी रहेको क्षेत्र मानिन्छ । यही एसफिल्डमा एसफिल्ड काउन्सिलले नेपाली समूदायका निम्ति लक्षित गरी लाईब्रेरीमा छुट्टै नेपाली पुस्तकहरुको शाखा सुरु गरेको छ । यसको शुभारम्भ नेपाली नयाँ वर्ष २०७२ को पहिलो दिन एसफिल्डकी मेयर लुसिली म्याकेना, न्यू साउथवेल्सको स्टेट लाईब्रेरीयन डा. एलेक्स व्य्रानी र अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रममा बोल्दै एसफिल्डकी मेयर लुसिनी म्याकेनाले नेपाली भाषाका किताबको छुट्टै शाखा खोल्नु काउन्सिलकै लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा मेन्डारिन, ईटालियन र क्यान्टोनिजपछि चौथो धेरै बोलिने भाषा नेपाली भएको उहाँले स्मरण गर्दै एसफिल्ड लाईब्रेरीले नेपाली किताबको व्यवस्था गर्न जुन तदारुकता देखायो यसको प्रशंसा गर्नुपर्दछ भन्नुभयो । उहाँले नयाँ वर्षको शुभकामना पनि दिनुभएको थियो । यसैगरी डा. एलेक्स व्य्रानीले न्यू साउथवेल्समा लाईब्रेरी जानेहरुको संख्या बढेको भन्दै स्टेट लाईब्रेरीसम्म पनि अनलाईनमार्फत पहुँच राख्न सकिने बताउनुभयो । यस्तै राजदूत रुद्रकुमार नेपाली समूदायका निम्ति यो खुशीको अवसर भएको भन्दै यस कार्यमा सहयोग गर्ने मेयरसहित सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा एनआरएन संरक्षक ईन्द्रा वन, नेपाली समूदायका अगुवा नारायण प्रधानले संयुक्त रुपमा अतिथिहरुलाई सम्मान गर्नुभएको थियो । नयाँ वर्षको पहिलो दिन आयोजना गरिएको कार्यक्रममा एसफिल्ड र रकडेल क्षेत्रमा बसोबास गर्ने नेपाली समूदायका बालबालिकाले विभिन्न सांस्कृति झाँकी प्रस्तुत गरेका थिए । समारोहपछि लाईब्रेरीको नेपाली शाखा सबैका लागि खुल्ला गरिएको थियो । लाईब्रेरीको भ्रमणपछि प्रतिक्रिया दिँदै न्यू साउथवेल्सका लागि अवैतनिक नेपाली महावाणिज्यदूत दीपक खड्काले निकै उपयोगी पुस्तकहरु लाईब्रेरीमा रहेको भन्दै यसबाट लाभान्वित हुन नेपाली समूदायलाई आग्रह गर्नुभयो । यस्तै नेपाली समूदायका प्रतिनिधि एवं सञ्चारकर्मी अर्जुनमणि पौडेलले एसफिल्ड क्षेत्रमा रहेका अग्रजहरुको प्रयत्न र काउन्सिलको सहकार्यमा नेपाली भाषीहरुलाई महत्व दिँदै सरकारी तवरमै कार्यक्रम हुनु खुशीको कुरा भएको बताउनुभयो । 20150414_114436शुभारम्भमा एनआरएन आईसीसी सचिव रञ्जु थापा, एनआरएन ओसियाना क्षेत्रीय संयोजक विष्णु हमाल, आईसीसी सदस्य एवं लिबरल फ्रेण्डस् अफ नेपालका अध्यक्ष श्री नापित, संघीय समाजवादी अष्ट्रेलियाका अध्यक्ष गणेश तामांग, एनआरएन महासचिव भरत पोखरेल पनि समारोहमा सहभागी बन्नुभएको थियो । कार्यक्रमलगत्तै नृत्य निर्देशक उषा बरियाको संयोजकत्वमा एसफिल्ड काउन्सिलको प्रांगणमा नृत्य कार्यशाला र नेपाली झाँकी प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]