आफ्नै बारेमा यसपाला…!

लाग्छ, म आफैं आफू हुन छाडेर अरु कोहीजस्तो भएको छु । अशक्त, अल्छी, गतिहीन तसर्थ अकर्मण्य । आफन्तजन, हितैषी र मित्रहरु बराबर खुल्दुली प्रकट गर्थे— सदाबहादर तरुणजस्तो रहनुमा त्यस्तो के रहस्य छ ज्यू ? रहस्य केही थिएन । म घुस र कमिसन खाने पदमा कहिल्यै रहिनँ । यदाकदा त्यस्तो पदको प्रस्ताव आउँदा सतर्कतासाथ म तर्किएँ । तसर्थ मेरो शरीरमा घुस र कमिसनको बोसो कहिल्यै लागेन । मेरो भुँडी पनि कहिल्यै घ्याम्पे भएन । यसमा शरीरको प्रकृतिको प्रभाव अलिकता होला, अलिकता मेरो तुफानी मणिङ वाकको । अरु केही होइन । मैले जिन्दगीमा खानमा बारना कहिल्यै गरिनँ । जहिले जहाँ जे पाएँ, अल्पहारी पेटले मागेजति मैले खाइरहेँ । स्वास्थ्यका जानकार र सर्वज्ञानी उपदेशकहरुका बाह्र–सत्ताइस कुरा मैले कहिल्यै टेरिनँ । यसो सुन्दा मलाई लाग्यो, तिनका कुरालाई टेर्दा जगत्मा मेरो खाने कुरै केही बाँकी नरहने भो । त्यसैले जे पाएँ, मैले खाएँ, र शरीरको प्रतिक्रिया बुझेँ । शरीर अप्रसन्न नहुन्जेल म सधैँ ढुक्क रहेँ । आ….जिन्दगी चल्ने यसरी नै हो । एकबारको जुनी हो, मस्तसँग चलो जी !

बिहान भालेको डाकमा मणिङ वाकमा निस्कने पन्ध्र वर्षदेखिको मेरो बानी हो । कहिले चाबेलबाट गुह्येश्वरी हुँदै हुत्तिएर गोठाटार । कहिले गुह्येश्वरीमाथि वनकालीको वनैवन चार फेरो फटाफट । कहिले गौरीघाटमाथि कैलास डाँडाको फराकिलो वृत्तमा दस फन्को फन्फनी । एक हातमा पिलपिले लाइट, अर्को हातमा लघु आकारको लठ्ठी, कुममुनि तुन्द्रुङ्ग झोला । घरबाट अँध्यारैमा निस्क्यो, मिरमिरेमा घर फक्र्यो । सधैँ सुमुसुमु एक्लै । भनुँ भने आप्mनो त मणिङ वाकको मान्यतै बेग्लै । मणिङ वाक साथीसँगीसँग नारिएर गर्ने होइन । मणिङ वाकको क्रममा कसैसँग गफमा अल्झिने होइन । बाटामा कोही ‘जय शम्भो’ फेला परे चक्षु मिलन वा मुस्कान आदान–प्रदान वा कुशलछेमको सोधनी गर्दै एक पल पनि अडिने होइन । अभिवादनको औपचारिकतामा एक निमेषधरि बरालिने होइन । फ्लाईङ किसको शैलीमा ‘जय शम्भो’को ठाडो जबाफ दियो, दायाँबायाँ कतै नहेरी अगाडि लमकलमक लम्क्यो ।

चुसे अर्थात् चुरोट सेवन वाद, मापसे अर्थात् मादक पदार्थ सेवन वर्जित । लाल मांस पूर्ण बहिष्कार, बोसोजन्य पदार्थलाई सर्वथा तिरष्कार । गाँठ्ठे, डाक्टरी संहिताका कठोर बन्देजकारी बुँदा त कति हुन् कति !

मेरो मणिङ वाकमा परिवेश हर्दम् अन्धकार, ठाउँ सधैँ एकलास र आफू नित्य एक्लै । कहिलेकाहीँ त वनकाली वनमा त्यसैत्यसै डर लागेर आउने । मलाई डर लाग्ने खासमा दुईटा ‘च’को । एउटा चितुवाको र अर्को चोरको । अलि वर्षअघिसम्म यो भेगमा चितुवाले मान्छेलाई चिथोरेका सुन्दैमा आङ सिरिङ्ग हुने घटनाबारे सुनिन्थ्यो । यदाकदा चोरको चर्तिकलाका ननिका कथा पनि सुन्नमा आउँथे । तर म आफू भने त्यस्तो अनिष्टमा कहिल्यै परिनँ । केही वा कोही आइलागे हातको डण्डीले वा भुइँको ढुङ्गोले ज्यानको बचाउ गर्छु भनेँ, र म फ्रि स्टाइलमा नित्य बत्तिँदै हिँडिरहे । तर यसपाला मेरो मणिङ वाकको क्रमभङ्ग भयो, र बर्बाद भयो । मणिङ वाक मेरो आरोग्य, जोश, स्फुर्ति र मनोबलको मुहान थियो । त्यो मुहान सुक्यो र म आफैं आफू हुन छाडेर अरु कोहीजस्तो हुन पुगेँ । त्यसैत्यसै उदास, सुस्त र अनुत्पादक । केही महिनासम्म मबाट न केही गम्भीर पठन भयो न लेखन । एकबारको जुनीको मेरो अमूल्य समय व्यर्थमा व्यतीत भयो ।

हो, यसपाला मलाई कडा रुघाखोकी लाग्यो । सामान्यतया रुघाखोकी नाथेलाई एकरत्ती टेरपुच्छर नलाउने मान्छे म । आ….यो आउँछ, जान्छ । यो आइहाले यसो बेसार–पानी खाए भयो । नाकमा सन्चो वा भिक्स घसे भयो । त्यतिले नगए यो नाथेलाई भकभकी उम्लँदो पानीको वाफले तर्साए भयो । छुसी रुघाखोकी आउँछ, आफ्नो अर्थ न बर्थको उपस्थिति जनाउँछ र योसँग नसकिने रहेछ भनेर सुस्केरा हाल्दै खुरुक्क बाटो लाग्छ । सोेचेको यस्तो थियो, तर भनेजस्तो भएन । यसपाला मलाई चर्को रुघाखोकी आयो । एक बिहान वनकाली विचरणको क्रममा चीसोचीसो अनुभव भयो । फिरफिरे लुगा लगाएको थिएँ । कात्तिक महिना हो, जाडो आयो भन्ने लागेकै थिएन । घर आइपुग्दा ज्यानमा रुघाखोकीले आक्रमण गरिसकेको थियो । भोलिपल्ट मणिङ वाक ठप्प भयो । अनि पर्सिपल्ट, अनि निकोर्सिपल्ट, अनि कानेकोर्सि……।

अब केको मणिङ वाक, म त ओछ्यानमा पो थला परेँ । मेरो छातीमा कफको सकस छ, नाकमा सिँगानको प्रवाह छ, आँखामा कचेरा छ, शिरमा दर्द छ । देह शुष्क छ र मेरो चाल छ त्यसैत्यसै सुस्त । अबलाई म ओछ्यानमा पूर्णकालिक ढलान भएँ । मेरो दिनचर्या नै कायापलट भयो । न बिहान वाक, न बेलुवा ट्वाक ! पूर्णकालिक गृहनजरबन्द । हैट्, जिन्दगी !

तैपनि म डाक्टरकहाँ गइनँ । यसो आयुर्वेदी बुटिसुटी लिएँ । त्यल्ले छोए त मार्दिनू । नाकमा र घाँटीमा यसो भिक्स वा सन्चो घसे । भिक्स वा सन्चोले पनि मलाई सन्च भएन । तातोपानीको वाफले खल्खली पसिना काडेँ । तैपनि बीसको उन्नाइस भएन । रुघाले पार्नुसम्म ग्रस्त पारिसक्यो, तैपनि डाक्टरकहाँ जान मन लागेन । गयो कि आदरणीय डाक्टरसाप् अनेक फर्माइसी गर्छन् । एक्सरे लेऊ । इसिजी गराऊ । अल्ट्रा साउन्ड गराऊ । अनि देहमा यो यन्त्र प्रयोग गराऊ, त्यो यन्त्र प्रयोग गराऊ । आखिर अस्पताल भनेको पूँजीवादी मक्खिचुस व्यापारको अखाडा न हो, त्यसले आवश्यक होस् वा नहोस्, बिरामीको देहमा आफ्ना भएभरका यन्त्र प्रयोग गरिहाल्छ । डाक्टर तानाशाहको मुद्रा धारण गरी बस्छ । उसले जे आदेश दिन्छ, त्यो खुरुक्क मान्न बिरामी विवश हुन्छ । बजार आतङ्ककको यो जमानामा स्वास्थ्य क्षेत्र रत्तिभर सेवा रहेन, यो त पूरापूर छुद्र ब्यापार भयो । डाक्टरहरु मानवसेवी जीव रहेनन्, पूरापूर द्रव्यभक्षी क्रूर शिकारी भए । आफ्नालाई रुघाले थला पारिसक्यो, तैपनि भुक्तभोगी चित्त भन्छ— डाक्टरकहाँ नजा मनुवा, गए तँ निर्ममतासाथ मुडिन्छस् । नजान जिद्दी गर्दागर्दै आखिरमा अस्पताल जान म विवश भएँ । छातीमा लिपिक्क टाँसिएको कफ छ । कफ फटाउन खोक्नुपर्छ । खोक्दा बायाँ कोणमा छाती दुख्न थाल्यो । परेन कि फसाद ! लाचार भएर सुस्केरा हाल्दै म डाक्टरकहाँ गएँ । डाक्टर महोदयले जे जे गर्नुथियो त्यो गरे । मेरो जीउको इतिवृत्त जाँचबूझ भयो । र, डाक्टर साहेपले पुरानै थेगो दोहो¥याए— धूलो, धूवाँ र चीसोको असर हो । डाक्टर साहेपले यो धूलो, धूवाँ र चीसोमा यसपटक ‘बूढो’ थपिदिए । रुघा, खोकी र चीसोमा जब ‘बूढो’ थपियो, र मेरो मन त्यसैत्यसै खिन्न भयो । बूढो नहुन जिद्दी गर्दागर्दै डाक्टरका मुखारविन्दबाट मलाई ‘बूढो’को उपाधि प्राप्त भयो । र, यो अनामन्त्रित उपाधिसँगै ममाथि अनेक निषेधकारी नियमहरु थोपरिए । चुसे अर्थात् चुरोट सेवन वाद, मापसे अर्थात् मादक पदार्थ सेवन वर्जित । लाल मांस पूर्ण बहिष्कार, बोसोजन्य पदार्थलाई सर्वथा तिरष्कार । गाँठ्ठे, डाक्टरी संहिताका कठोर बन्देजकारी बुँदा त कति हुन् कति !

अब गर्ने के, ब्रो ? म सोचमग्न भएँ । सोचेँ— अलिन्जेल समग्र डाक्टरी आदेशको पालना गर्छु र आफुनो देहलाई सोध्छु । डाक्टरका सबै आदेशको पालना गर्दा त गाँठ्ठे, जीवनमा आफ्नो भागमा केही बाँकी नरहनेजस्तो भयोे । अतः..मरिजाने जुनीमा जैन्जोहेरी जे त पर्ला भन्दै म पुनः जीवनको पुरानै लयमा फर्केँ । मेरो मणिङ वाक पूर्ववत् शुरु भयो र सायम् ट्वाक् पुन चालु भयो । मनको कुनामा कताकति डर थियो, प्रतिक्रियास्वरुप मेरो देहले के भन्ला ? भाग्यवश भनुँ, मेरो देह अप्रसन्न भएन । भोजनमा रुचि पूर्ववत् छ, मेरो पाचनक्रिया ठिक छ, निन्द्रा ठिक छ । देह र मन दुवै चङ्गा छन् । तुफानी गतिमा प्रातः लमक्मा लम्किँदै, मनमनै मुस्कुराउँदै मैले भनेँ— सरी डाक्टसाहेब, हाललाई हजुरभन्दा प्रभावी डाक्टर मेरा चल्तीका दिनचर्या र लत एवं कुलत नै भए । देहमा तिनको चलखेलले गुनिलो काम ग-यो । हाललाई मेरो दामका ठाउँम दाम बच्यो, ज्यानलाई आनन्दका ठाउँमा आनन्द प्राप्त भयो । आइन्दा के होला, देखा जायगा !

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team