नेपालमै पहिलो पटक बर्दियामा बीउ बैंक स्थापना

नेपालकै अन्न भन्डारका रुपमा परिचित बर्दियाको राजापुर क्षेत्रमा बीउ बैंक स्थापना गरिएको छ । गत असार २ गतेदेखि निर्माण थालिएको बीउ बैंकमा चैत महिनादेखि काम सुरु भएको हो । बीउ उत्पादनका लागि उर्बर रहेको त्यस क्षेत्रमा विश्व बैंक, नेपाल सरकार र स्थानीय कृषक समूहको लगानीमा भन्डारगृह निर्माण भएपछि गुणस्तरीय बीउ उत्पादन हुने भएको हो । नेपाल सरकारको ८० प्रतिशत र कृषकको २० प्रतिशत लगानीमा बनाइएको भन्डारगृहमा बीउ प्रशोधन र भन्डारणसँगै करिब दुई लाख कृषक लाभान्वित हुने भएका छन् । बैंकमा स्थानीय समूह, सहकारी र व्यक्तिको पनि सेयर रहेको छ । भन्डारगृह बनाउन विश्व बैंकले रु दुई करोड, उपकरण जडानका लागि नेपाल सरकारबाट रु एक करोड तथा भवन स्थापनाका लागि जग्गामा कृषक समूहको लगानी छ । भन्डारगृहमा सिजनअनुसार एक हजार क्विन्टलसम्म बीउ भन्डारण गर्न सकिने र बीउको ग्रेडिङ तथा प्रशोधन हुने छ । ‘बीज बैंक’को स्थापना भएपछि करिब ५० टन खाद्यान्न निर्यात हुने बर्दियामा बीउ आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने कृषि विकास कार्यालयले जनाएको छ ।