अबको संविधानसभा बैठकले संविधान लेख्ने सुनिश्चितता दिने संविधासभाध्यक्षको भनाई


nembangसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब बस्ने संविधानसभा बैठकले संविधान लेखनको मार्गप्रशस्त गर्ने बताउनुुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ४९औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उहाँले सहमति वा प्रक्रिया जुनसुकै तरिकाबाट भएपनि संविधान जारी हुने बताउनुभएको हो । उहाँले अब बस्ने बैठकको मिति (यही चैत ३० गते) भित्र सहमति गर्न राजनीतिक दललाई आग्रह भन्नुभयो, “समयमै सहति गर्नुहोस् होइन भने संविधानसभा नियम र स्थापित अभ्यासअनुसार अगाडि बढ्छ किनकी संविधानसभाको नियमावली र विधि तपाईंहरूले नै तयार गर्नुभएको हो ।” यस पटक संविधानसभाले संविधान बनाउनै पर्ने बाध्यता रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “यो पटक संविधान बनाइएन भने संविधानसभाबाट संविधान बन्दैन ।” उद्योग वाणिज्य महासङ्घलाई पनि सहमति र एकताबद्ध भएर आगाडि बढ्न सुझाव दिँदै अध्यक्ष नेम्वाङले बजेट चाँडो ल्याउने विषयमा सरकारलाई आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदे अधिवेशन बोलाउन सरकारलाई बारम्बार आग्रह गरेको छु, तपाईंहरूले पनि त्यस किसिमको दबाब दिनुहोला ।” महासङ्घका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले मुलुकमा स्वदेशी विदेशी लगानी बढाउने, जनशक्तिलाई उद्यमशीलता बनाउने, रोजगारी वृद्धि गर्ने, राष्ट्रिय पूँजी निर्माण गर्ने र मुलुकलाई समृद्धितर्फ लैजानका लागि सबै क्षेत्रको पहल जरुरी भएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई बेलाबखत राज्य संयन्त्रबाट हुने व्यवहारबाट पीडा बोधबोध हुने गरेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो । राजनीतिकरणका कारण प्रायः सबै क्षेत्र समस्या पर्दै गएको उल्लेख गर्दै अध्यक्ष मुरारकाले व्यावसायीलाई राजनीतिक दलको प्रभावबाट भन्दा व्यावसायिक छवीमा विश्वास गर्न आग्रह गर्नुभयो । महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले राजनीतिक अस्थिरताका कारण सिङ्गो व्यावसायिक क्षेत्र नै मारमा परेको उल्लेख गर्दै चाडो संविधान जारी गरी स्थायित्व प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सभामा महासङ्घका पूर्व अध्यक्ष तथा देशभरका उद्योगी तथा व्यवसायी सहभागी भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]