जुट्ला त चैत्र ३० गतेभित्र सहमति ?


CPN-UML Leaders at Baluwatarसंविधानसभाको आगामी बैठक बस्ने दिन यही चैत ३० गतेभित्र संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउने कसरतमा प्रमुख दल जुटेका छन् । सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक सोमबारसम्मका लागि स्थगन गरेलगत्तै एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले आमहडतालको कार्यक्रम छोट्याएपछि सहमति जुटाउने वातावरण बनेको हो । सोही क्रममा आज प्रमुख सत्ता घटक नेपाली काँग्रेस र नेकपा (एमाले) का शीर्ष नेताको बैठकले सो दिनभित्र सहमति जुटाउन हरसम्भव प्रयास गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा विभिन्न विकल्पमा छलफल गरी सो दिनसम्म कसरी सहमति जुटाउने भन्ने विषयमा गम्भीर छलफल भएको एमालेका नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । बैठकले आगामी संविधानसभाको बैठकमा संविधान निर्माणको प्रक्रिया अघि बढाउने र त्यसबीच एमाओवादीलगायत दलसँग सहमतिका लागि वार्तालाई पनि निरन्तर अघि बढाउने निर्णय गरेको उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो । सहमति भए पनि प्रक्रियामा जानुपर्छ भन्दै काँग्रेस र एमालेका नेताले संविधानसभाको आगामी बैठकमा सहमति भएका बुँदालाई प्रक्रियामा अघि बढाउने र बाँकी विषयमा सहमति जुटाउँदै जाने सहमति गरेका छन् । बैठकमा बुधबार काँग्र्रेस र एमाओवादीबीच भएको छलफलको विषयका बारेमा एमालेसँग आदानप्रदान भएको र चैत ३० गतेसम्म सहमतिलाई निष्कर्षमा पु¥याउने निर्णय भएको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री एवम् काँग्रेस नेता नरहरि आचार्यले बताउनुभयो । संविधानसभाको आगामी बैठकअघि सम्पूर्ण विषयमा सहमति जुटाउनका लागि असहमति भएका विषयमा मात्र केन्द्रित भएर वार्ता गरी सहमति जुटाउने निर्णय भएको काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । काँग्रेस र एमालेको संयुक्त बैठकले सो अवधिमा सहमति नभए संविधान निर्माणमा सहमति भएका विषयलाई प्रक्रियामा अघि बढाउने निर्णय गरेका छन् । विवादित विषयमा सहमति जुटाउने प्रयासमा यसअघि बुधबार काँगे्रस र एमाओवादीबीच छलफल भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]