विगतका सहमति बिर्सेर अघि बढ्न खोजेकोले सहमति नभएको प्रचण्डको ईयु प्रमण्डललाई स्पष्टीकरण


prachanda1एकीकृत नेकपा(माओवादी)ले आफू सहमतिका आधारमा नै अगाडि बढ्न चाहेको तर सत्तारूढ दलमा सहमतिभन्दा प्रक्रियामा बढी जोड रहेका कारण सहमतिमा विलम्ब भएको जनाउँदै ढिलोचाँडो सबै राजनीतिक शक्ति सहमतिमा आउने विश्वास दिलाएको छ । नेपालको संविधान लेखन प्रक्रियामा रहेका गत्यावरोधका बारेमा युरोपेली संसद्का प्रतिनिधिले राखेको जिज्ञासामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संवादलाई अगाडि बढाउन नै आफूहरूले घोषणा गरेको आमहडतालको कार्यक्रम फिर्ता लिएको उल्लेख गर्दै संविधान निर्माणको आधार बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, मधेसी, दलित, आदिवासी र महिलासँग भएका सहमति नै भएकाले त्यसमा विशेष ध्यान दिन सत्तारूढ दललाई आग्रह गरिएको प्रतिनिधिमण्डललाई जानकारी गराएको बताउनुभयो । नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले संविधान लेखनका प्रक्रियामा देखिएका अवरोधलाई हटाएर कसरी अगाडि बढ्न सकिन्छ र नेपाली जनताले कहिले संविधान पाउँछन् भन्नेमा चासो राख्दै विगतका सहमति तथा सम्झौताका आधारमा नै अगाडि बढाउन आग्रह गरेको छ । नेता दाहालसँग आज उहाँकै निवास लाजिम्पाटमा भेटेर प्रतिनिधिमण्डलले संविधान लेखनको कामलाई पूर्णता दिएर मुलुकलाई आर्थिक समृद्धिका दिशामा अगाडि बढाउन आग्रह गरेको थियो । प्रतिनिधिमण्डलसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले विगतमा प्रमुख राजनीतिक दलबीच भएको सहमति र सम्झौताका आधारमा संविधान लेखनको प्रक्रियालाई अगाडि बढाउने पक्षमा युरोपेली संसद् रहेको जिकिर गर्नुभयो । दलबीच नयाँ ढङ्गको सहमतिको जरुरत रहेकामा उहाँले जोड दिनुभयो । ‘‘हामी सकेसम्म सहमतिको पक्षमा नै छाँै, विगतका सहमति कार्यान्वयन होस् भन्ने नै हाम्रो माग रहिआएको छ, नयाँ माग अगाडि सारेका छैनौँ, तर सत्तारूढ दल नयाँ त्यो पनि पूरा नै गर्न नसकिने माग जस्तो गरी प्रस्तुत भएका छन्, जसका कारण सहमति हुन सकेको छैन’’– दाहालले भन्नुभयो । अध्यक्ष दाहालले संविधान लेखन प्रक्रिया विश्वमा कहीँ पनि बहुमतमा आधारमा अगाडि नबढेको जिकिर गर्दै नेपालमा पनि त्यसो हुन नसक्ने बताउनुभयो । युरोपेली संसद्का तर्फबाट दक्षिण एसिया मामिला प्रमुख जिन लम्बर्टले संविधान जनताको साझा दस्तावेज भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।
जलवायु परिवर्तनबारे चासो
पूर्वप्रधानमन्त्री दाहालसँगको भेटमा प्रतिनिधिमण्डलले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावकाबारेमा चासो राख्दै समस्या समाधानका लागि मिलेर काम गर्ने विश्वास दिलाएको थियो । औद्योगिक राष्ट्रका कारण नेपालमो हिमनदी पग्लँदै गएको, मध्यपहाडी क्षेत्रमा खानेपानीका मूल सुकेको र हिमालमा हिउँको मात्रा कम भएकाले त्यसविरुद्ध लड्न मिलेर काम गर्नुपर्नेमा जोड दिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । ‘‘हिमनदी पग्लँदै जानाले नेपाल मात्र होइन, समग्र विश्वलाई नै प्रभावित पार्ने स्थिति छ, विकासको नयाँ अवधारणा अगाडि सार्नुपर्ने आवश्यकता देखिएको छ, सो विषयमा दुई पक्षबीच गम्भीर संवाद भयो’’– दाहालले भन्नुभयो । प्रतिनिधिमण्डलले नेपालको आर्थिक समृद्धिको आधार जलविद्युत् भएको उल्लेख गर्दै नेपाल सरकारले वातावरण मिलाएको खण्डमा युरोपेली सङ्घअन्तर्गत रहेका राष्ट्रसमेत लगानीका लागि तत्पर रहेको जानकारी गराएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]