बागलुङ क्षेत्र नं १ मा शनिबार मतदान हुने, तयारी पूरा


ballot voting vote box politics choice electionबागलुङ क्षेत्र नं १ मा शनिबार हुने संविधानसभा सदस्य उपनिर्वाचनको तयारी पूरा भएको छ ।
मतदानपूर्वका सबै व्यवस्थापकीय काम सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पैंतीस मतदानस्थलमा रहेका ७० मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । मतदान केन्द्र बनाउने, सूचना प्रकाशन गर्ने र सर्वदलीय बैठक बस्ने काम भइरहेका छन् । मतदान सञ्चालनबाहेक अरू सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताउनुभयो । “सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचनमा प्रयोग हुने सामग्री पुगिसकेका छन्, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सर्वदलीय बैठक बसिरहेका छन्” अधिकृत उपाध्यायले भन्नुभयो, “निर्वाचन गाउँगाउँमा रहेका मतदानस्थलतिर केन्द्रित बनेको छ, जिल्लास्तरको तयारी सबै सम्पन्न भएको छ ।”निर्वाचन गराउन सबै मतदान केन्द्रमा गरी ३५० निजामती कर्मचारी र ४२० स्वयम्सेवक खटिएका छन् । मतदान केन्द्रको सुरक्षाका लागि बेग्लै निर्वाचन सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन अवधिभरको सुरक्षा व्यवस्थालाई थप कडा तुल्याइएको छ । ‘पोस्ट’, ‘रिजर्भ’, ‘मोबाइल’र ‘स्ट्राइकिङ’का लागि प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा प्रहरी अधिकृत खटिएका छन् । मतदानको मिति आउन दुई दिन बाँकी रहँदा शून्य समय सुरु भएको छ । दलहरू खुला प्रचारप्रसार गर्नबाट वञ्चित भए पनि आन्तरिक तयारी, भेटघाट र घरदैलामा जुटेका छन् । निर्वाचन पर्यवेक्षणमा खटिने पर्यवेक्षक कार्यक्षेत्रमा पुग्ने क्रम सुरु भएको छ । नागरिक अनुगमन समाज र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका गरी ६० भन्दा बढी पर्यवेक्षकले उपनिर्वाचनको पर्यवेक्षण गर्नेछन् । उपनिर्वाचनमा कुनै पनि विदेशी पर्यवेक्षकको उपस्थिति नरहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अघिल्ला निर्वाचनमा भन्दा अलग्गैखालको सूक्ष्म अनुगमन पनि गर्ने भएको छ । आयोगकै पदाधिकारी, निजामती र गुप्तचर संस्थाका कर्मचारीले उपनिर्वाचनको गोप्य अनुगमन गर्नेछन् । आयोगले सहसचिवस्तरको बृहत् अनुगमन टोली पनि उपनिर्वाचनमा खटाएको छ । दश राजनीतिक दलका र तीन स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदानमा छन् । उन्नाइस गाविससहित एक नगरपालिका रहेको सो क्षेत्रमा ३५ मतदानस्थल र ७० मतदान केन्द तोकिएको छ । मतदाता सङ्ख्या ५२ हजार २०२ रहेकामा पुरुष २३ हजार ७२४ र महिला २८ हजार ४६० छन् । आयोगले मतदानको दर अन्य उपनिर्वाचनमा भन्दा बढ्ने विश्वास लिएको छ । यस क्षेत्रमा पहिलो पटक विद्युतीय मतदान उपकरण प्रयोग हुन लागेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आइतबार दिउँसोसम्म नतिजा आइसक्नेछ । उपनिर्वाचनलाई नमुना बनाउने आयोगले जनाएको छ । देशभरिमा एउटा मात्र क्षेत्रमा हुन लागेको भए पनि उपनिर्वाचनप्रति राज्य संयन्त्र र राजनीतिक दलहरूको ध्यान यतै केन्द्रित भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]