एमाओवादीसहितको ३० दलीय मोर्चाबाट नेपाल बन्द फिर्ता, २६ गते रौतहटमा सभा

एकीकृत नेकपा(माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले पूर्वघोषित बाँकी दुई दिनको नेपाल बन्द फिर्ता लिएको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा अबेरसम्म बसेको मोर्चाको बैठकले बुधबार र बिहीबारको बन्दको कार्यक्रम फिर्ता लिएको हो । सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले मोर्चाले तीन दिनको नेपाल बन्दलगायत आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको थियो । एमाओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलले संविधानसभाको बैठक यही चैत ३० गतेका लागि तय गरेकाले नयाँ राजनीतिक परिस्थिति देखापरेको तथा नागरिक समाज र उद्योगी व्यवसायीका तर्फबाट पनि बन्द फिर्ता लिन आग्रह गरिएकाले तत्कालका लागि फिर्ता लिइएको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेटी बन्दलगायतका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । सहमतिका आधारमा संविधान जारी गर्ने विषयमा आफूहरुको सहमति रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिले बन्दलगायतका विरोध कार्यक्रम फिर्ता लिई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । यसैबीच, मोर्चाको बैठकले सोमबार साँझ नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरी प्रशासनबाट धरपकडबाट सयभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको घटनाप्रति आपत्ति जनाएको छ । साथै, सो घटनामा गम्भीर घाइते भएका १२ मध्ये चार जनालाई आजै हेलिकोप्टबाट काठमाडौँ ल्याइएको जानकारी दिइयो । मोर्चाले मुलुकका नेपाल बन्दका क्रममा मुलुकका विभिन्न भागमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्दै द्विपक्षीय झडपका क्रममा घाइते भएका नेता तथा कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकमा पूर्व घोषित आन्दोलनको समग्र परिस्थितिको समीक्षा गर्नुका साथै भावी कार्यक्रमबारे गम्भीर छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । ३० दलीय मोर्चाको कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै आजको बैठकमा चुरे भावर राष्ट्रिय पार्टीले समेत सहभागिता जनाएको छ । यस्तै बैठकले सेवा केन्द्र विस्तारपछि उत्पन्न परिस्थितिलाई लिएर आन्दोलनमा उत्रिएका रौतहटका जनताको मागलाई समर्थन गर्दै यही चैत २६ गते मोर्चाका सबै शीर्ष नेता सहभागी भई सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । आन्दोलनको क्रममा प्रहरी प्रशासनले स्थानीयमाथि अत्याधिक बल प्रयोग गरेको भन्दै मोर्चाले आपत्ति प्रकट गरेको छ । यस्तै बैठकले यही चैत २७ गते मोर्चाको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो । सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यका साथ नेपाल बन्दलगायत कार्यक्रम घोषणा गरेको बताएको थियो । संविधानका विवादित विषयहरुमा सहमति कायम हुन नसके प्रक्रियामा गएर टुङ्गो लगाउने सत्तारुढ दलको अडान र सहमति कायम हुन नसकेको खण्डमा आन्दोलनको दबाब सिर्जना गरेर सत्तापक्षलाई सहमतिमा ल्याउने मोर्चाको भनाइबाट संविधान लेखनको काम लामो समयदेखि प्रभावित हुँदै आएको छ ।
बन्दमा कहाँ के भयो ?
एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको नेपाल बन्दले सर्वसाधारणको दैनिक कष्टकर बनेको छ । संविधान लेखनमा सहमतिका लागि दबाब दिने भन्दै मोर्चाले घोषणा गरेको नेपाल बन्दका क्रममा राजधानीमा बिहानैदेखि बन्दकर्ताले नारा जुलुसका साथ यातायात, पसल, उद्योग कलकारखाना, शैक्षिक संस्था जबर्जस्ती बन्द गराउँदा कतिपय स्थानमा प्रहरीसँग झडपसमेत भएको छ । बन्दकर्ताले आज बिहान सबेरै कोटेश्वर क्षेत्रमा त्रिभुवन विमानस्थलमा आफन्तलाई पु¥याएर फर्किरहेका नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा पेट्रोल छर्किएर आगजनी गरेका थिए भने बुद्धनगरमा तरकारी बोकेको गाडीमा तोडफोड गरेका थिए । दिउँसोसम्म राजधानीमा जबर्जस्ती बन्द गराउँदै हिँडेका मोर्चाका १८ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक नारायणसिंह खड्काले राससलाई जानकारी दिनुभयो । आन्दोलनकारीबाट हुनसक्ने क्षतिलाई रोक्न तथा सर्वसाधारणको सुरक्षाका लागि सडकका चोकचोकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने आन्दोलनकारी पनि बन्द सफल बनाउन एकत्रित भएर नाराबाजी गरिरहेका छन् । यातायात, कार्यालय, पसल–व्यापार, शैक्षिक संस्था, उद्योग व्यवसाय बन्दले सर्वसाधारणको दैनिक कष्टकर बनेको छ भने बन्दका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्गको बिचल्ली नै भएको छ । मुलुकभरबाट राजधानी भित्रिने यातायातका साधान भित्रिन नपाउँदा यात्रुहरू बाटोमै अलपत्र पर्नुका साथै स्थानीय रुटका सवारी साधन र ट्याक्सी नचल्दा गन्तव्यमा पुग्न नपाएर सर्वसाधारण घन्टौँ पैदल यात्रा गर्न बाध्य बनेका छन् । राजधानीका नयाँ बानेश्वर, बिजुली बजार क्षेत्रमा प्रहरीको सवारी साधनमाथि बन्दकर्ताले ढुङ्गा प्रहार गरेपछि भएको लाठी चार्ज र अश्रुग्यास प्रहारमा केही आन्दोलनकारी र चारजना प्रहरी घाइतेसमेत भएका छन् । अन्य स्थानमा पनि बन्दकर्ताले छिटफुट रूपमा चलेका सवारी साधनमाथि आक्रमण प्रयास गर्दा सामान्य झडप भएको प्रहरीले जनाएको छ । राजधानीमा छिटफुट रूपमा यातायातका साधन चलेका भए पनि रत्नपार्क, नयाँ बानेश्वर, कलङ्की, बल्खु, कोटेश्वर, गौशाला, सातदोबाटो, नयाँ बसपार्क, चक्रपथ, चाबहिललगायत क्षेत्रमा ठूलो सङ्ख्यामा सर्वसाधारण गन्तव्यमा पुग्न नसक्दा अन्योलमा परेका देखिएका छन्् ।