नेपाल¬–कतार श्रम वार्ता : अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई कारबाही गर्ने संयुक्त प्रतिबद्धता

वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा श्रमिकबाट अतिरिक्त रकम असुल्नेहरूको अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ । कतारले आप्रवासी कामदारको सुरक्षा, बिमा, उपयुक्त कार्यस्थलका साथै सामाजिक सुरक्षासँग सम्बन्धित सबै विषयमा ध्यान दिने तथा सरकारले हालै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न कानुन संशोधन गरेको जानकारी वार्ताका क्रममा दिएको श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । वार्तामा नेपालले कतारमा कार्यरत चार लाखभन्दा बढी नेपालीको सुरक्षाको प्रत्याभूति, दक्ष एवम् व्यावसायिक श्रमिक लिन तथा उनीहरूलाई कार्यस्थलमा जानुअघि पूर्व अभिमुखीकरण तालिम उपलब्ध गराउन र वैधानिक कागजपत्र नभएकाहरूलाई प्रायोजक परिवर्तनलगायत समस्यामा परेकाहरूलाई सहयोग गर्न अनुरोध गरेको थियो । नेपाल सरकारको अनुरोधप्रति कतारी प्रतिनिधिमण्डलले सकारात्मक जवाफ दिएको तथा कामदारहरूको तलबभत्ता उनीहरूको बैंक खातामा जम्मा गर्ने प्रावधान रहेको जानकारी दिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, कतारलाई आवश्यक भएका कामदार र तिनको मागपत्रका साथै रोजगारीको करारपत्रको प्रमाणीकरण गर्न कतारी रोजगार विभागलाई गरेको नेपाल सरकारको तर्फबाट गरिएको अनुरोधलाई पनि कतारले सकारात्मक रूपमा लिएको छ । नेपाली कामदारहरूको व्यवस्थापन र अभिलेखीकरणमा कतारले गर्दै आएका कामबारे जानकारी लिन दुई जना नेपाली सञ्चार प्राविधिज्ञलाई कतार पठाउन गरेको आग्रहलाई नेपालले स्वीकार गर्दै यथासक्य छिटो सञ्चार प्राविधिज्ञ पठाउने जवाफ दिएको उक्त मन्त्रालयले जनाएको छ । वार्तामा दुवै मुलुकले वैदेशिक रोजगारीसम्बन्धी सूचना आदानप्रदान गर्ने तथा गैरकानुनी काम गर्नेहरूलाई कानुनको दायरामा ल्याउने सहमति जनाएका थिए । साथै श्रमसम्बन्धलाई अझ घनिभूत तुल्याउन दुवै मन्त्रीबीच सहमति भएको छ । मन्त्री खुलाफीले राज्यमन्त्री गुरुङलाई कतार भ्रमणका लागि गर्नुभएको आमन्त्रणको सहर्ष स्वीकार गर्दै उहाँले उपयुक्त समयमा कतार आउने जानकारी दिनुभएको थियो । राज्यमन्त्री गुरुङको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा नेपाल आउनुभएका मन्त्री खुलाफीले यहाँ रहँदा राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गरी द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श गर्नुभएको थियो ।