सहमतिका लागि प्रधानमन्त्रीको सक्रियता बढ्दो, प्रचण्डसँग भेट

संविधान निर्माणका लागि दलहरूबीच सहमति नबनेर सत्तारुढ दल संविधान निर्माणको प्रक्रियामा र विपक्षी दल आन्दोलनमा केन्द्रित रहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका लागि सक्रियता बढाउनुभएको छ । सोही क्रममा प्रधानमन्त्री कोइरालाले बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीसँग समसामयिक राजनीतिबारे छुट्टाछुट्टै छलफल गर्नुभयो । भेटमा प्रधानमन्त्री कोइरालाले दुवै नेतालाई शनिबार सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दलसँग भएको छलफलका बारेमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री कोइरालाले सहमतिका लागि वार्ता र संवादलाई जारी राख्दै प्रक्रियाबाट संविधान लेखन कार्यलाई शीघ्र अघि बढाउन आफूहरू अग्रसर रहेको बताउनुभएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी गराउनुभयो । भेटमा राप्रपा नेपालका अध्यक्ष थापाले प्रश्नावली निर्माणका लागि गठन भएको प्रस्ताव समितिले धर्म निरपेक्षता, गणतन्त्र र सङ्घीयताका सम्बन्धमा प्रश्न उठाउन नदिए आफ्नो पार्टीले पुनः संविधानसभा बैठक अवरुद्ध गर्ने बताउनुभएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले त्यसबारेमा सम्बन्धित मन्त्रीसँग कुरा गरेर बैठक अवरुद्ध नहुने समझदारी बनाउन संवाद थाल्ने बताउनुभएको थियो । अध्यक्ष थापाले एकीकृत नेकपा (माओवादी) लगायत मधेसी दल र राप्रपा नेपाललाई अलग गरेर संविधान जारी गर्न नहुने बताउँदै तत्काल संविधानसभाका सबै दलको सर्वदलीय बैठक राखेर संविधान निर्माणको नयाँ कार्यतालिका निर्माण गरी अघि बढ्न सुझाव दिनुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा जनमोर्चाका अध्यक्ष केसीले सहमतिका नाममा अनन्त कालसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै आफ्नो पार्टी तत्काल प्रक्रिया अघि बढाउने पक्षमा रहेको जानकारी दिनुभएको थियो । अध्यक्ष केसीले भए सहमतिबाट नभए प्रक्रियाबाट संविधान जारी गर्नुको विकल्प नभएको सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको बताउनुभयो । उहाँले सङ्घीयताको विषयलाई तत्काल थाती राखेर पछि छलफल गर्ने गरी संविधान जारी गर्दा उपयुक्त हुने सुझाव दिनुभएको थियो । दलहरूबीच संविधानका अन्तर्वस्तुमा सहमति कायम हुन नसकेपछि अहिले देशको राजनीति स्पष्ट रूपमा दुई कित्तामा विभाजन भएको छ । काँग्रेस र एमालेलगायतका दल संविधानका अन्तर्वस्तुमा सहमति हुन नसकेमा प्रक्रियाद्वारा छिनोफानो गर्ने पक्षमा उभिएका छन् भने एमाओवादीको नेतृत्वमा रहेको मोर्चा सहमतिको विकल्प नभएको भन्दै सहमतिका लागि दबाब सिर्जना गर्न आन्दोलनमा छ ।
यसैबीच, साँझ प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ । दुई नेताबीच एक्लाएक्लै कुराकानी भएको थियो । यसक्रममा आन्दोलन, संविधान निर्माण लगायतका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्रीले आन्दोलन छाड्न प्रचण्डलाई आग्रह गरेका थिए भने प्रचण्डले सहमतिको ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।