
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका हुन् ।
‘तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप लगाइसकिन्छ, उनले भने, ‘चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं । जस्तो यसपल्ट प्राप्त गरेका छौं । चाहे हामीले किन्न परोस् । सबै नेपालीलाई निशुल्क र भेदभावबिना यो खोप उपलब्ध गराइनेछ ।’
माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् । उनले सबै नागरिकलाई यो खोप निशुल्क उपलब्ध हुने स्पष्ट पारेका छन् । बुधबारबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिँदैछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ ।