वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक सुवेदीले एमएनटिभिलाई जानकारी दिए ।

प्रतिनिधिसभा विघटनको घोषणाअघि प्रधामन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आएका गौतम प्रतिनिधिसभा विघटनपछि भने कुनै पनि समूहमा रहेका छैनन् । आफू प्रचण्ड–नेपाल समूह या ओली समूहमा नजाने भन्दै उनले पार्टी एकता अभियान सुरु गर्न लागेका हुन् । प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उनका भनाई छ ।

उनले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र घरमा आउनेहरुलाई सक्दो सहयोग एवम् सम्मान गरी समाजवादी शैली अपनाउन सबैलाई अपिल गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team