नचिन्दा संख्या मर्‍यो, चिन्दा मान्छे !

ईश्वरवल्लभ एक तालका कवि थिए । जिन्दगीदेखि दिक्क भएर तिनले कवितामा सुस्केरा हाले— ‘यो जिन्दगी, खै के जिन्दगी !’ अहिले, आतङ्कमय कोभिड महाव्याधिले वल्लभ दाइको चिसो सुस्केरालाई सम्झाइरहेछ । संसारैभरि सारा मान्छेको दिनचर्या खिन्न मनले मर्नेको संख्या गन्नु र उदास मुद्रामा काल पर्खिनुजस्तो भएको छ । नाथे शव गनुवा र काल कुरुवा यो जिन्दगी, खै के जिन्दगी ! तैपनि, पार्टनर, जिन्दगीको मायाँ साह्रै ज्याद्रो हुछ । जहाँ घिटिघिटी सास छ, त्यहाँ पनि अलिकता आस हुन्छ ! जिन्दगीको विवशता ! यो कष्टमय कोरोनाकालमा सासमा आस झुन्ड्याएर बाँच्नुपर्‍या छ । तै भोलि केही राम्रो भइहाल्ला कि भनी बाटो हेर्नुपर्‍या छ । हर्दम् चनाखो भई निठुरी काललाई छल्न सक्दो प्रयास गर्नुपर्‍या छ ।

ल्गभग वर्ष दिनयताका उद्युमै दुःखका दिनको कुरा हो यो । संसारैभरि मर्नेहरुको संख्या गन्दै दिन सुरु हुन्छ । र, संसारैभरि मर्नेहरुको संख्या गनेरै दिन सकिन्छ । डरले नजानिदो गरी काम्दै मान्छेको दिन सुरु हुन्छ । र, डरले नजानिदो गरी काम्दै मान्छेको दिन सकिन्छ । कोरोना महाव्याधिको फैलावट सँगै जीवनमाथि मृत्युको भयानक छायाँ मडारिइरहेछ । पल–प्रतिपल, नित्य–निरन्तर । मान्छे पर्‍यो सोच्नसक्ने, कर्म गर्नसक्ने, उत्पादन गर्नसक्ने, सिर्जना गर्नसक्ने, आविष्कार गर्नसक्ने प्राणी । भनुँ भने एकदमै अद्भुत प्राणी ! मान्छेसँग भाषा छ, लिपि छ, स्मृति–शृङ्खला छ । मान्छेमा करुणा–चेत छ, मान्छेमा सौन्दर्य–चेत छ । मान्छेमा स्वाभिमान–चेत छ, मान्छेमा स्वतन्त्रता–चेत छ । मान्छेमा विद्रोह–चेत छ, मान्छेमा क्रान्ति–चेत छ । यी अनेकओली गुण भएको मान्छे ठट्टा होइन । तर यो कोरोना आतङ्कमा मान्छे सस्तो ठट्टा भएको छ । मान्छेका दृष्टिमा मान्छे मान्छे होइन, फगत संख्या भएको छ ।

झट्ट सुन्दा यो कथन एकदमै क्रूरजस्तो लाग्छ । मान्छे मर्दा मान्छेका दृष्टिमा मान्छे मर्दैन, केवल संख्या मर्छ । जस्तो कि माथि एक जना मर्‍यो, तल बीस जना मरे, पर सय जना मरे, झन् पर हजार जना मरे । मर्ने जो हो ऊ वास्तवमा आफूजस्तै मान्छे हो । तर ऊ मर्दा मान्छे मर्दैन, फगत संख्या मर्छ । यो जीवनको यो कति अनौठो रीत ! सुन्दैमा कति कठोर, कति निर्मम !

चिनेको बोलक प्राणी जब मर्छ, त्यसले मान्छेलाई रुवाउँछ । यस्तो महाव्याधिमा शब्दको कुशल कलाकारले भने कमाल गर्दो रहेछ । कलाकारले जब नचिनेका मान्छेका मृत्युको दर्दनाक कथाको करुणाजनक चित्र उतार्छ, त्यो जीवन्त कथा पढेर मान्छे चिनेको मान्छे मर्दाझैं धुरुधुरु रुन्छ ।

अतीत नियाल्दै गमेर ल्याउँदा मान्छेको यो अनुभूति असामान्य होइन । त्यसो त यो अनुभूति अपवादजन्य पनि होइन । र, मान्छेको मान्छेप्रतिको यो उदासीन अनुभूति कोरोना कालको मात्र पनि होइन । कुनै पनि महाव्याधिमा आपूmले नचिनेको बोल्ने दोपाया मर्दा केवल संख्या मर्दो रहेछ । तर चिनेको बोल्ने दोपाया मर्दाचाहिँ मान्छे मर्दो रहेछ । नचिनेको बोलक प्राणी जब मर्छ, त्यसले मान्छेको कोमल हृदयलाई खासै छुँदैन । तर चिनेको बोलक प्राणी जब मर्छ, त्यसले मान्छेलाई रुवाउँछ । यस्तो महाव्याधिमा शब्दको कुशल कलाकारले भने कमाल गर्दो रहेछ । कलाकारले जब नचिनेका मान्छेका मृत्युको दर्दनाक कथाको करुणाजनक चित्र उतार्छ, त्यो जीवन्त कथा पढेर मान्छे चिनेको मान्छे मर्दाझैं धुरुधुरु रुन्छ ।

कोभिड कोरोनाले डसेर पहिले चीनमा मान्छे मर्‍यो । अनि इटली, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, ब्रिटेन, ब्राजिल, अष्ट्रेलिया, नेपाल, भारत आदिमा यो लहरै सल्क्यो । मान्छे एक देशमा होइन, यी सबै देशमा, दिनको एक जना होइन, हजारौँ जना मरे । संसारभरिका ती सब मृत्युलाई केवल संख्यामा गनियो । यहाँ यति मरे, उहाँ उति मरे, कहाँ कति मरे ? अहो ! कतै नेपाली पो मरे कि ? मृत्यु र केवल मृत्युको समाचार सुन्दा मलाई सधैँ नकिको शंका लागिरह्यो । जब ब्रिटेनमा मान्छे मर्न थाले, पीरले मेरो हंस हल्लिन थाल्यो । अरे, कतै नेपाली पो परे कि ? कतै हाम्रा गोरखा भाइ–बहिनीहरु पो मरे कि ? अन्यत्र मर्दा मेरो दृष्टिमा संख्या मथ्र्यो, ब्रिटेनमा मान्छे मर्‍यो । किन ? किनभने ब्रिटेनमा मेरा चिनारुहरु थुप्रा छन् । एकाध पहिल्यैदेखिका चिनारु, धेरै एकाध वर्षअघि ब्रिटेन जाँदा बनेका चिनारु । यसो कान थापेर खबर सुन्दा त गाँठ्ठे ! ब्रिटेनमा कोरोना महाव्याधिले नेपाली पो मर्न थाल्यो । ध्यानले सुन्दैजाँदा थुप्रो गोर्खाली लाहुरे मरे । मेरो बेचैन मनमा प्रश्न उठ्यो— नाथे धूलाको कणभन्दा कति–कति सनो कोरोना भाइरसले गोर्खाली लाहुरे मर्छ ? असम्भव ! जाबो अति सूक्ष्म कोरोना भाइरसले त्यत्रो शूरवीर जमदार गजे घले भीसी मर्छ ? असम्भव !

हाम्रा गोर्खाली लाहुरेहरुको चिनारी वास्तवमा झुट, भ्रम र अफबाहले बनेको छ । मानौँ गोर्खाली लाहुरे सुखमा हाँस्ने, दुःखमा रुने, घाउ लागे रगत बग्ने, गोली लागे मर्ने मामुली मान्छे होइन । मानौँ गोर्खाली लाहुरेमा डर भन्ने आवेग नै छैन । मानौँ गोर्खाली लाहुरे खालि एकोहोरो वीर हो, आँधो वीर हो । मानौँ गोर्खाली लाहुरे केवल साम्राज्यवादी गोराको शत्रु मार्ने रोबोट अर्थात् यन्त्र–मानव हो । बिल्कुल संवेदनाशून्य, भावनाशून्य, करुणाशून्य, कष्ट र वेदनाशून्य यन्त्र–मानव । कुटिल कल्पनाद्वारा कथिएको कथा भन्छ— गोर्खाली लाहुरे हावामा उफ्र्यो कि दश जना बैरी नढाली भूइँ टेक्दैन । इस्कुलमा पढ्दा किताबमा भेट भएको मेरो पहिलो गोर्खाली लाहुरे यस्तै थियो । अरे, यस्तो भयानक गोर्खाली लाहुरे ब्रिटेनमा पाजी कोरोना भाइरसले मर्‍यो ?

हो, लाहुरे मर्‍यो । मर्‍यो र त्यसले मेरो कमलो चित्तमा दुःखको भाव जगायो । ब्रिटेनको हरेक मृत्युले मरो शङ्कालु मनमा प्रश्न जगायो— कतै मेरो चिनारु पर्‍यो कि ? कतै मेरो घनिष्ट मित्र पो मर्‍यो कि ?
कोभिड कोरानाले मान्छेलाई नङ्ग्याएर उसको साँगुरो र स्वार्थी रुप देखाइदियो । र, देखिनेमा म पनि परेँ । दुनियाँमा नचिनेको कोही मर्दा मेरो दृष्टिमा केवल संख्या मर्‍यो, चिनेको कोही मर्दामात्र मान्छे मर्‍यो !

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team