सशस्त्रले गायब बनायो कुमारलाई, छानबिन समिति गठन


apfचीनतर्फ ग्यास तस्करी गरेको आरोपमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएका हगामवासी कुमार तामाङलाई सशस्त्र प्रहरी बलले बेपत्ता पारेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । तातोपानीस्थित स्मल हेवन होटलमा भएको द्विपक्षीय वार्ताले सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरेको हो । घटनाबारे सात दिनभित्र प्रतिवेदन तयार पारी त्यसका आधारमा दोषीमाथि कारबाही गर्ने सहमति भएको छ । द्विपक्षीय वार्तामा एसएसपी चिरञ्जीवी कुँवर, एसपी विदुर गुरुङ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका विष्णुबहादुर श्रेष्ठ, पीडितका आफन्त एवम् नेपाली काँग्रेसका क्षेत्रीय सभापति जङ्गबहादुर लामा, भैरवकुण्ड युवा क्लबका कुमार श्रेष्ठलगायतका व्यक्तिहरू सहभागी थिए । सीमा क्षेत्रस्थित सशस्त्र प्रहरी बलले तामाङलाई गत बुधबार राति अवैध रूपले खासा बजारमा ग्यास लगेको भन्दै नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा रहेका तामाङ सोही राति भागेको प्रहरीको दाबी छ । आफन्तले भने प्रहरीको यातनाकै कारण तामाङको मृत्यु भएको र उनको शव बेपत्ता पारेको बताइआएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]