तीस दलीय मोर्चाको आन्दोलन सहमतिकै लागि हो : डा भट्टराई

पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले ३० दलीय मोर्चाको आन्दोलनको मनसाय सशस्त्र विद्रोह गर्ने र राज्यसत्ता पल्टाउने नभएको बताउनुभएको छ । एमाओवादी कास्कीले पोखरामा आयोजना गरेको ‘सहमतीय संविधान निर्माणमा जनआन्दोलनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “अहिले विद्रोह आवश्यक छैन, सम्भव पनि छैन । अहिलेको आन्दोलनको उद्देश्य सहमतिमा संविधान बनाउने हो ।” उहाँले सत्तापक्षले १२ बुँदे सहमति, जनआन्दोलन र पटक–पटक भएका सहमति विपरीत बहुमतको दम्भ देखाएकाले आन्दोलन थालिएको जिकिर पनि गर्नुभयो । उहाँले परिवर्तनकामी शक्तिहरूबीच सम्झौताको कुनै विकल्प नभएकामा जोड दिँदै १२ बुँदे जस्तै एक सम्झौता गरी गतिरोध अन्त्य गर्न सत्तापक्षसँग आग्रह पनि गर्नुभयो । उहाँले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशीका विषयमा सहमति भए बाँकी विषयहरू संविधानसभामा मतदानमार्फत नै टुङ्ग्याउन आफूहरू तयार रहेको बताउनुभयो । “विधि नै छोड्नुपर्छ भन्नेमा हामी छैनौँ, संविधानको अन्तर्वस्तु प्रगतिशील र विधि लोकतान्त्रिक होस् भन्ने हाम्रो माग हो,” उहाँले भन्नुभयो – “उहाँ (सत्तापक्ष) हरूले विधि र प्रक्रिया समाएर बस्ने, हामीले अन्तर्वस्तुमात्र समाएर बस्दा सहमति हुन सक्दैन ।” प्रक्रियाको कुरा गर्दा अन्तर्वस्तुमा सत्तापक्ष लचिलो हुनुपर्ने उहाँले दोहो¥याउनुभयो । उहाँले आफूहरूले उठाएका माग पूरा नभए फेरि पनि जनस्तरबाट विद्रोह हुनसक्ने सम्भावना व्यक्त गर्नुभयो । उहाँले न्याय प्रणालीमा सहमति कायम भएको, सङ्घीयताको मुद्दामा आफूहरू पहिचानमा अडिग रहेको तर पहिचानसहितको संयुक्त प्रदेशमा आफ्नो सहमति रहेको बताउनुभयो । शासकीय स्वरूपलाई मतदानमार्फत टुङ्ग्याउने र त्यसमा एमाओवादी असहमत भए असहमति राख्ने तयारी गरेको बताउँदै उहाँले निर्वाचन प्रणालीमा ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक बनाउने विषयमा आफूहरू सकारात्मक रहेको जानकारी दिनुभयो ।