परराष्ट्रमन्त्री पाण्डे चीन भ्रमण सकी स्वदेश फिर्ता, चीनबाट थप सहयोगको प्रतिबद्धता


pandeyचीनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति प्रदान गर्दै आएको आर्थिक तथा प्राविधिक सहायता अझ वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चीनको पाँचदिने औपचारिक भ्रमण पूरा गरी अपराह्न स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै चीनबाट नेपाललाई प्राप्त हुँदै आएको सहयोग थप गर्ने प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । “नेपालको पूर्वाधार, उद्योग, व्यापार, ऊर्जा, कृषि, तथा पर्यटनका क्षेत्रमा लगानी र सहयोग विस्तार गर्नेमा चिनियाँ पक्ष निकै सकारात्मक देखिएको छ”– उहाँले भन्नुभयो । साथै चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि थप प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको जानकारी दिनुभयो । आफ्ना चिनियाँ समकक्षीसँग आफूले द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल गरेको जानकारी दिँदै मन्त्री पाण्डेले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसरमा सन् २०१५ मा उच्चस्तरीय भ्रमण आदानप्रदान एवम् विभिन्न कार्यक्रम आयोजना गर्न दुवै पक्ष सहमत भएका बताउनुभयो । राष्ट्रपति डा रामवरण यादवले बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिने क्रममा आगामी साता हुन लागेको चीन भ्रमणलाई चिनियाँ पक्षले उच्च महत्व दिएको र बोआओमा दुवै मुलुकका राष्ट्रपतिबीच द्विपक्षीय हित र आपसी सहयोगका विविध क्षेत्रमा छलफल हुने जानकारी पनि मन्त्री पाण्डेले दिनुभयो । बेइजिङमा रहँदा आफूले चिनियाँ उपराष्ट्रपति ली युआनचाओलाई भेटेर शताब्दीऔँदेखिको आपसी सहयोग, सद्भाव र मैत्रीलाई अझ बलियो बनाउनेबारेमा विचारविमर्श गरेको बताउँदै भन्नुभयो–“नेपालमा राजनीतिक स्थायित्व, दिगो विकासप्रति चीनको चासो व्यक्त भयो, चीनले नेपाली जनताको इच्छाबमोजिम चाँडो संविधान जारी गरेर सर्वाङ्गिण विकास एवम् आर्थिक समृद्धिको पथमा अग्रसर भएको हेर्न चाहेको छ ।” चीनले अपनाएको छिमेकीहरूप्रतिको कूटनीतिमा नेपाललाई उच्च प्राथमिकतामा राखेको र नेपालले अवलम्बन गरेको ‘एक चीन नीति’को बेइजिङले मुक्तकण्ठले प्रशंसा गरेको मन्त्री पाण्डेको कथन थियो । भ्रमणको क्रममा आफूले नेतृत्व गरेको प्रतिनिधिमण्डलले युनान प्रान्तको राजधानी कुनमिङको भ्रमण गर्नुका साथै त्यहाँका गभर्नरसँग आपसी चासोका विविध विषयमा छलफल गरेको उहाँले बताउनुभयो । “नेपाल र चीनबीचको सम्बन्ध, समन्वय र सहयोग थप अभिवृद्धि गर्न तथा नेपालमा चिनियाँ लगानी आकर्षित गर्न यो भ्रमण सफल भएको छ,”– नेपाल–चीन पारस्परिक सम्बन्ध प्रगाढ बनाउन आफ्नो भ्रमण फलदायी भएको बताउँदै उहाँले भन्नुभयो । राष्ट्रपति यादव तथा प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट आफूले चिनियाँ राष्ट्रपति एवम् प्रधानमन्त्रीलाई नेपाल भ्रमणका निम्ति चिनियाँ विदेशमन्त्री वाङ यीलाई आमन्त्रणपत्र हस्तान्तरण गरेको जानकारी पनि पाण्डेले दिनुभयो । चीन भ्रमणमा जानुअघि आफूले विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिँदै नेपालले वर्सेनि झेल्नु परेका प्राकृतिक विपत्ति र त्यसका असर घटाउन सरकारले गरेका प्रयासबारे जानकारी गराएको बताउनुभयो । अन्तर्राष्ट्रिय सहयोग र प्रविधि आदानप्रदानबाट विश्वका सबै राष्ट्रले भोग्नुपरेका विपत्तिबाट जोगिन सकिने तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा सबै सरोकारवालासँग हातेमालो गरेर मात्र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने नेपालको अवधारणा सम्मेलनमा प्रस्तुत गरेको जानकारी मन्त्री पाण्डेले दिनुभयो । एक पृथक प्रसङ्गमा उहाँले मानवअधिकार उल्लङ्घनको अभियोगमा बेलायतमा थुनामा रहेका नेपाली सेनाका महासेनानी कुमार लामाको नागरिक अधिकार रक्षा गर्न सरकार संवेदनशील रहेको बताउनुभयो । साथै उहाँले श्रम सम्झौता÷समझदारी नभएका मुलुकमा गैरकानुनी ढङ्गले जाँदा जीवन जोखिममा पर्नेतर्फ सचेत गराउँदै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न पनि सरकार उत्तिकै गम्भीर एवम् क्रियाशील रहेको बताउनुभयो । सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै मन्त्री पाण्डे गत फागुन २८ गते जापान प्रस्थान गर्नुभएको थियो । त्यहीँबाट उहाँ यही चैत ३ गते बेइजिङ भ्रमणमा जानुभएको थियो । विमानस्थलमा मन्त्री पाण्डेलाई परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी तथा उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]