भिक्टोरियामा एक सातादेखि स्थातीयस्तरमा शून्य कोरोना संक्रमण

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको एक सातादेखि स्थानीयस्तरमा शून्य कोरोना संक्रमणको सफलता हासिल भएको छ । लगातार ६१ दिनसम्म यस्तै सफलतापश्चात चाडवाडको बेला न्यूसाउथवेल्स पुगेर आएका व्यक्तिहरुबाट कोरोनाको संक्रमण स्थानीयस्तरमा देखिएको थियो । अहिले यो नियन्त्रणमा आइसकेको छ । कूल १७ हजार ९ सय ८ परीक्षणका नतिजाहरु प्राप्त भएकोमा तीन जना अन्तर्राष्ट्रिय यात्रीमा मात्रै कोभिड १९ कोरोनाको जीवाणु फेला परेका थिए ।

यससँगै राज्यमा सक्रिय कोरोना संक्रमितको संख्या ३५ रहेको छ । अन्तर्राष्ट्रिय यात्रीहरुलाई होटल क्वारेन्टीनमा राख्ने प्रबन्ध गरिएको छ । त्यहाँबाट नेगेटिभ रिपोर्ट आएपछि मात्रै उनीहरुलाई आफ्नो गन्तव्यमा जान दिइने गरिन्छ ।

यसैबीच, भिक्टोरियाले क्वीन्सल्याण्ड र न्यूसाउथवेल्ससँगको सिमाना बन्द गरेर ट्राफिक लाईट नियम लगाएपछि यसको विषयमा आन्तरिक बहसहरु सुरु भएका छन् । ब्रिसबेनमा नयाँ प्रकारको कोरोना भाईरस लागेका व्यक्ति मेलबर्नबाटै गएको, समूदायस्तरमा तीन दिनसम्म शून्य संक्रमणको अवस्था देखिएको बेलामा यस्तो प्रतिबन्ध आवश्यक नहुने केही विज्ञहरुको राय छ ।

उता चीरप्रतिस्पर्धी न्यूसाउथवेल्स र भिक्टोरियाले एकअर्कालाई पछिल्लो समय कोभिड १९ कोरोनाको संक्रमणमा घुमाउरो पाराबाट दोष लगाउने क्रमलाई यथावत राखेको पाइएको छ । भिक्टोरियामा कोभिड १९ को दोश्रो उछाल आएको बेला न्यूसाउथवेल्सले यसको नीतिको आलोचना गरेको थियो भने अहिले न्यूसाउथवेल्समा कोरोना नियन्त्रणमा आउन नसक्दा भिक्टोरियाका केही मानिसहरु उनीहरुको प्रवृत्ति जिम्मेवार रहेको बताइरहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?