नयाँ गभर्नर डा चिरञ्जीवी नेपालको सपथ आइतबार, काठमाडौँको फोहोर ४८ घण्टाभित्र सफा गर्न सशस्त्र प्रहरी परिचालन


chiranjebiसरकारले काठमाडौँ उपत्यकाको फोहोरमैला ४८ घण्टाभित्र सफा गर्नका लागि सशस्त्र प्रहरी बलको एउटा युनिट नुवाकोटको ओखरपौवामा स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फोहर व्यवस्थापनका लागि आवश्यक डोजरलगायत उपकरण उपलब्ध गराउने जिम्मा सहरी विकास तथा भौतिक योजना मन्त्रालयलाई र आवश्यक व्यवस्था मिलाउन गृहमन्त्रालयलाई जिम्मा दिएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बैठकपछि सञ्चारकर्मीलाई यी सबै कार्यको समन्वय गर्ने जिम्मा मुख्य सचिवलाई दिइएको जानकारी पनि दिनुभयो । बैठकले सुदूरपश्चिम विकास क्षेत्र आयोग र कर्णाली क्षेत्र विकास आयोग गठन तथा कार्यसञ्चालन आदेश २०६९ को पहिलो संशोधन पारित गरेको छ । साथै, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले गठन गरेको प्रारम्भिक वार्ता उपसमितिले संविधानसभा बाहिर रहेका विभिन्न राजनीतिक दल, सरोकार समूह तथा सशस्त्र समूहसित गरेका सहमति तथा सम्झौता कार्यान्वयनबारे रायसुझाव दिन गठित कार्यदल २०७१ को कार्यावधि समाप्त हुने मिति फागुन ३० गतेबाट थप ४५ दिन थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा अर्थविद् डा चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ । गभर्नर सिफारिसका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा सो निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । नयाँ गभर्नरको सपथ आइतबार हुने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]