नेपाल एकीकरणकर्ताको स्मरण गर्दै अष्ट्रेलियाका विभिन्न शहरमा मनाईयो पृथ्वी जयन्ती

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका विभिन्न शहरमा २ सय ९९ औं पृथ्वी जयन्ती मनाइएको छ । नेपालका एकीकरणकर्ता बडामहाराजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर एकता दिवस मनाइएको हो ।

सिड्नीमा प्रवासी नेपाली समाज अष्ट्रेलिया, अन्तर्राष्ट्रिय नेपाली दिवस संयोजन समिति लगायतको आयोजनामा एकता दिवस मनाइएको हो । स्थानीय अबर्नमा विहान संयोजन समितिले पृथ्वीनारायण शाहको सम्झनामा कार्यक्रम राखेको थियो भने साँझ समाजले पृथ्वीजयन्ती मनाएको हो । यस्तै मेलबर्नमा राष्ट्रिय शक्ति नेपाल अभियान अस्ट्रेलियाले पृथ्वी जयन्ती मनाएको छ ।

प्रवासी नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशीका अनुसार समाजले एडिलेड, सिड्नी, मेलबर्नमा कार्यक्रम गरेको थियो ।

एडिलेडको जोस्लिन रिजर्ब पार्कमा भएको कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै समूदायका अगुवा दिपक बिष्टले यहाँ बिगत ३५ बर्ष देखि पृथिवी जयन्ती एबं राष्ट्रिय एकता दिवस मनाउने गरिएको दावी गरे । कार्यक्रम संयोजक एबं पानस अस्ट्रेलियाका कोषाध्यक्ष कल्याण पन्तले सञ्चालन गरेको कार्यक्रममा जीत चन्द, प्रकाश रेग्मी, अरुण काफ्ले, नारायण काजी गुरुङ, डा कुश श्रेष्ठ, राजु उपाध्याय लगायतका वक्ताहरुले एकता दिवसको महत्वबारे आफ्नो धारणा राखेका थिए ।

उता सिड्नीको कार्यक्रममा पूजा आरधना, भजन साथै राष्ट्रिय गीतहरु पनि गाइएको थियो। कार्यक्रममा सहभागि एनआरएनका उपाध्यक्ष देव गुरूङ, नेपाली समाजका अगुवा दिनेश जोशी, प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशी, सरोज पाण्डे, विजय पौडेल, रोशन खतिवडा, राजु गिरीलगायतले पुस २७ गतेलाई सम्झनु हरेक नेपालीको कर्तव्य भएको बताएका थिए ।

मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योजन सहभागी थिए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशब कडेल, पूर्वअध्यक्ष टोनु घोताने, पानस अस्ट्रेलियाका उपाध्यक्ष ऋषिकेश न्यौपाने, राष्ट्रिय शक्ति नेपाल अभियान अष्ट्रेलियाका अध्यक्ष विभूषण जोशी लगायतले पृथ्वीनारायण शाहको योगदानलाई नयाँ पुस्ताले स्मरण गर्नुपर्ने बताएका थिए ।

क्यानबेरामा पहिलो पटक मनाइयो

यसैबीच क्यानबेरास्थित ब्ल्याक माउन्टेनमा केही युवाहरुले पृथ्वी जयन्ती आयोजना गर्दै पृथ्वीनारायण शाहको सम्झना गरेका छन् । कार्यक्रममा क्यानबेराका नेपाली समूदायका अगुवाहरु कृष्ण हमाल, एनआरएनका संयोजक चुणमणि सापकोटा लगायतको उपस्थिति थियो । पृथ्वीनारयण शाहको तस्वीरमा माल्र्यापण गरी पृथ्वी जयन्तीलाई आगामी वर्षमा समेत निरन्तर आयोजना गरी मनाउने तयारी गरिएको वक्ताहरुले बताएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?