सिड्नीका नेपालीमाझ जम्यो तीतोसत्य मेरीबास्सै साँझ


Tito Satyaबिहीबार साँझ सिड्नीमा नेपालका चर्चित कलाकारहरुले मनोरञ्जन दिलाएका छन् । तीतो सत्य मेरी बास्सै साँझ नाम दिइएको कार्यक्रमको सुरुवात नृत्यंगना पार्वती राईको गीतबाट भएको थियो । नेपालमै यतिबेला एक नम्बरकी नृत्यंगनाको रुपमा चिनिने पार्वती राईले अञ्जु पन्तको चर्चित गीत मैले के बिराएँ मा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको आयोजना स्मार्ट एक्सेस ईन्टरनेन्मेन्टले गरेको हो । यसैक्रममा मेरी बास्सैका कलाकारहरु तक्मे बुढा विल्सनविक्रम राई र माग्ने बुढा केदार घिमिरे मञ्चमा देखा परे । अष्ट्रेलिया आउँदाको आफ्नो अनुभव नै साटासाट गरेका उनीहरुले विमानमा भएका विविध गतिविधिलाई मनोरञ्जक पारामा प्रस्तुत गर्दा पूरै हलमा हाँसो गुञ्जिएको थियो । त्यस्तै, अभिनेत्री दिपाश्री निरौलाले आकर्षक नृत्यबाट गोली सीसाको प्रहार गरिन् दर्शकहरुलाई । मञ्चबाट ओर्लिएर पहिलो पंक्तिमा रहेका दर्शकहरुसँग नाच्दै उनले गरेको नृत्यमा सबैजना झुमेका थिए । नेपाली टच, एएलपी प्रडक्सन, एन्जल मुभीज, एजुकेशन पार्क र ईपी माइग्रेशनले संयोजन गरेको तीतो सत्य मेरी बास्सै साँझ सिड्नीमा हाँस्य अभिनेता दिपकराज गिरी आकर्षणको केन्द्रमा थिए । दिपकराज गिरीले करिब आधा घण्टाभन्दा बढी स्ट्याण्डअप कमेडी प्रस्तुत गरेका थिए । श्रीमान र श्रीमतीको विषयमा जानकारी दिँदैगर्दा धेरैजना पेट मिचीमिची हाँसीरहेका थिए भने उनको प्रस्तुतिमा धेरैबेरसम्म तालि बजिरह्यो । कार्यक्रममै नेपिन्डोको तर्फबाट उषा बारिया, राजु गुरुंगले सिड्नीमा प्रदर्शन हुन लागेको चलचित्र भुल भुलैयाको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । दोश्रो पटक उपस्थित भएका केदार घिमिरे माग्ने बुढाले राजनीतिलाई व्यंग्य गर्ने लोकतन्त्र… बोलको प्यारोडी गीतमा दर्शकलाई झुम्न बाध्य बनाएका थिए । यस्तै गायिका आस्था राउतले चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा बोलको गीत गाउँदा पूरै हलमा उपस्थित दर्शकहरुले मनोरञ्जन लिए । उक्त गीतलाई वान्समोर आएपछि उनले तीनपटकसम्म गाउनुपरेको थियो । यसैगरी राउतले झुम्के बुलाकी लगायतका गीतमा दर्शकहरुलाई नचाएकी थिइन्। अर्कोतर्फ, विल्सनविक्रम राई तक्मेबुढाको एकल स्ट्याण्डअप कमेडीमा पनि उनले अष्ट्रेलिया आइसकेपछि देखेका दृश्यहरुको बयान गरेका थिए । कार्यक्रमपश्चात कलाकारहरुलाई एनआरएन सचिव रञ्जु वाग्ले, एनआरएन ओसिनिया क्षेत्रीय संयोजक विष्णु हमालले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । नेपाली कलाकारहरुको हौसला बढाउनका निम्ति न्यू साउथवेल्सका अवैतनिक महावाणिज्यदूत दिपक खड्का र एनआरएन संरक्षक ईन्द्रा वन कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । गत मार्च ७ तारिखका दिन सिड्नीमा आयोजना गर्ने भनिएको तीतो सत्य मेरी बास्सै साँझ नेपालमा टर्किश एयरको विमान दुर्घटनाग्रस्त भएपछि १९ तारिखका लागि सारिएको हो । कलाकारको टोली अब २२ तारिखमा मेलबर्नमा कार्यक्रम प्रस्तुत गर्न जाँदैछ । एकै कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिबाट मनोरञ्जन लिन पाउँदा दर्शकहरु दंग देखिन्थे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]