बाक्लो सहभागिताविच भिक्टोरियाव्यापी दोश्रो टेबलटेनिस प्रतियोगिता सम्पन्न !

मेलबर्न, अष्ट्रेलिया ।

एनआरएन अष्ट्रेलियाको भिक्टोरिया युथ फोरमको आयोजनामा मेलबर्नमा भएको दोश्रो भिक्टोरियाव्यापी टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । ८५ जना खेलाडी सहभागी प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गराइएको थियो । १२ वर्षमुनीको समूहमा सोम धितालले उपाधि कब्जा गर्न सफल भए भने सवाना खान्ज्या दोश्रो र आदिश पाण्डे तेश्रो बन्न सफल भए । यस्तै महिलातर्फ स्मृति अधिकारीले उपाधि जितिन् भने मीना लामिछाने दोश्रो बनिन् । १२ वर्षदेखि १८ वर्ष उमेर समूहको प्रतिस्पर्धामा प्रभात भट्ट विजेता बनेका छन् भने उपविजेतामा विवेक काफ्लेले चित्त बुझाउनुपरेको थियो । यस्तै पुरुष खुल्ला समूहतर्फको विजेता विक्रम तिवारी बन्न सफल भए । उनलाई फाईनलमा सत्रन्ज सुवालले कडा चुनौती दिएका थिए । पुरुष भेट्रान्सतर्फ हरि कँडेलले उपाधि जिते भने न्याभका पूर्वअध्यक्ष तारा गैरेले दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले खेल भावनाबाट आफु निकै प्रभावित भएको भन्दै भिक्टोरियाको युवा टिमले उत्कृष्ट व्यवस्थापन गरेकोमा बधाई दिएका थिए । उक्त अवसरमा एनआरएन भिक्टोरियाका संयोजक प्रेम कँडेल, एनआरएन आईसीसी सदस्यहरु दुर्गा आचार्य, नारायण काफ्ले, अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष राजेश आचार्य, फेन्काका अध्यक्ष डा. राजु अधिकारी, जोग लिम्बुसहितको उपस्थिति थियो ।

प्रतियोगिताको रेफ्रीका रुपमा सोमप्रसाद गुरुंग, विपुल ज्ञवाली, सुनिल मैनाली र आकाश क्षेत्रीले सक्रिय सहभागिता जनाएका थिए ।

प्रतियोगिताको संयोजन एनआरएन भिक्टोरिया युथ फोरमका संयोजक बबिन मिश्र र असिम सुवेदीले गरेका थिए भने सञ्चालन एनआरएन भिक्टोरियाका सचिव नारायण कटुवालले गरेका थिए । एमएनटीभीसँग कुरा गर्दै संयोजक मिश्रले प्रतियोगितामा सहभागी संख्याले उत्साह थपेको प्रतिक्रिया दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?