ब्रिसबेनमा आजबाट लकडाउन हट्दै, २२ तारिखसम्म मास्क भने अनिवार्य

ब्रिसबेन, अष्ट्रेलिया ।

बेलायतबाट कोभिड १९ कोरोनाको नयाँ प्रकार भित्रिएको आशंकामा तीन दिने लकडाउन सुरु गरेको क्वीन्सल्याण्डले कुनै संक्रमण फैलिएको नभेटेपछि निर्धारित समयमा आज सोमबार साँझ ६ बजेबाट लकडाउन हटाउँदैछ । तर, केही प्रतिबन्धहरु भने यथावत रहनेछन् ।

पछिल्लो स्वास्थ्य अपडेट अनुसार अब ब्रिसबेनका बासिन्दाहरुले ईन्डोरमा मास्क लगाउन अनिवार्य हुनेछ । यो नियम जनवरी २२ सम्मका लागि लगाइएको छ ।

सपिंग सेन्टर, जिम, पूजास्थलहरु, लाईब्रेरी, सार्वजनिक यातायात, ट्याक्सी या राईडसेयरमा अनिवार्य मास्क लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गर्न नसकिने कार्यस्थलमा पनि मास्क लगाउनु अनिवार्य हुनेछ । व्यक्तिगत सवारी साधनमा मास्क लगाउन अनिवार्य नभएपनि ईन्डोरमा प्रतिव्यक्ति ४ वर्गमिटरको दूरी नियम लागू हुनेछ भने आउटडोरमा २ वर्गमिटरको नियम लगाउनुपर्नेछ ।

विवाहमा बाहेक नाच्न अनुमति हुने छैन भने रेष्टुरेन्टहरुमा कुनै खाना खाँदा बसेर मात्र खान पाइनेछ । घरहरुमा र सार्वजनिक स्थलमा २० जनासम्म भेला हुन पाइनेछ भने विवाह र मृत्युसंस्कारमा सय जनासम्म सहभागी हुन सक्नेछन् । ईन्डोर कन्सर्ट वा थियटरहरु क्षमताको ५० प्रतिशत सहभागितामा सञ्चालन हुन सक्नेछन् । अस्पताल, एज्ड केयर होम, असक्त व्यक्तिको आवास लगायतमा भ्रमण गर्न लगाइएको रोक यथावत रहनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?