भिक्टोरियामा एक अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण, २३ हजार परीक्षण

मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा भएको २३ हजार परीक्षणमा एकजनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यी व्यक्ति अन्तर्राष्ट्रिय यात्री भएको स्वास्थ्य विभागले जनाएको छ । यससँगै राज्यमा ३९ जना कोरोना सक्रिय संक्रमित रहेको तथ्यांक पनि सार्वजनिक भएको छ ।
हिजोबाट सुरु भएको स्थानीयस्तरमा शून्य कोरोना संक्रमणको नतिजाले कोरोनाविरुद्धको अभियानमा लाग्नेहरुलाई उत्साही तुल्याएको छ ।
उता भिक्टोरियामा संकलन गरिएको १० हजार कोरोना परीक्षणको नतिजा अहिलेलाई स्थगन गरिएको छ । केही प्राविधिक गडबडीले गर्दा यस्तो हुन गएको र छिट्टै प्रकाशित गरिने जनाइएको छ ।