राष्ट्रपतिद्वारा तेक्वान्दो खेलाडी सङ्गीनालाई रु १५ लाखको चेक प्रदान, सरकारद्वारा महिला खेलाडी सम्मानित


sanginaनारी दिवसको अवसर पारेर सरकारले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्दै देशको नाम चिनाउन सफल महिला खेलाडीहरूलाई नगद तथा कदरपत्रसहित सम्मान गरेको छ । राष्ट्रपति भवन शितलनिवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवले तेक्वान्दो खेलाडी सङ्गीना बैद्यलाई रु १५ लाखको चेक प्रदान गर्नुभयो । यसअघि मन्त्रीपरिषद्ले दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण, एसिया प्यासिफिक खेलकुदमा एक स्वर्ण पदक तथा ओलम्पिकमा छनोट हुन सफल सङ्गीनाको योगदानको कदर गर्दै नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । कार्यक्रममा एसियाली प्रतिस्पर्धामा काश्य जितेकी साम्बो खेलाडी भगवती माझीलाई रु. एक लाख, श्रीलङ्कामा भएको पहिलो दक्षिण एसियाली महिला भलिबल र पाकिस्तानमा सम्पन्न तेस्रो महिला साग फुटबलका उपविजेता टिम तथा साग फुटबल विजेता १४ वर्ष मुनिको टिमलाई पनि सम्मान गरियो । ऊर्जामन्त्री राधा ज्ञवाली, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्मालगायतले तीनै टिमका खेलाडी, मुख्य र सहायक प्रशिक्षक, व्यवस्थापक तथा पदाधिकारीलाई जनही रु २५–२५ हजार प्रदान गरेर सम्मान गर्नुभयो । नेपाली क्रिकेट टिमलाई डिभिजन–३ को उपाधि जिताएका तत्कालिन प्रशिक्षक जगतबहादुर टमाटालाई पनि रु. एक लाख प्रदान गरियो । यसअघि प्रशिक्षक टमाटा क्रिकेट टिम सम्मानित हुँदा छुट्नुभएको थियो । सम्मानित खेलाडीलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले आधुनिक युगमा देशलाई चिनाउने माध्यम खेलकुद भएको बताउँदै भन्नुभयो, “सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, जानकी माता र वीर गोर्खालीले चिनाएको देशलाई अब खेलकुदले चिनाउनुपर्छ, त्यसमा पनि तपार्इँहरूजस्ता महिला खेलाडीहरूको योगदान अझ महत्वपूर्ण हुन्छ ।” राष्ट्रपति यादवले कम भौतिक पूर्वाधार र विभिन्न कठिनाइका बाबजुद महिला खेलाडीहरूले पदक जित्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । युवा तथा खेलकुद मन्त्री पौडेलले नेपाली समाजमा नारीलाई देवी, माता, भगवती, सरस्वती, लक्ष्मीलगायतका उपमा दिएर पूजा गर्ने गरेको स्मरण गर्दै महिला खेलाडीलाई सम्मान गर्न पाउदा गर्व लागेको बताउनुभयो । सम्मानित खेलाडी सङ्गीनाले सरकारले महिला खेलाडीको कदर गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]